Logo

Jul 25 2026 | २०८३, श्रावण ९गते

‘कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक, साउन २२ देखि देशभर प्रदर्शनमा आउने

‘कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक, साउन २२ देखि देशभर प्रदर्शनमा आउने

काठमाडौं : आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको दृश्य प्रस्तुत गरिएको छ। पोस्टरले आमा–बालकको सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्षमा आधारित कथावस्तुको संकेत गर्छ।

मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’को पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रप्रति उत्सुकता थपिएको छ। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित चलचित्रमा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले ‘कमला मिस’मार्फत सामाजिक यथार्थ र पारिवारिक भावनालाई केन्द्रमा राख्दै फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन्। उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्। विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन्।

पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्। चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्। प्राविधिक पक्षमा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, युग भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रेनिश फागोको रङ संयोजन, मुकेश शाहको ध्वनि मिश्रण, भोला सुवेदीको निर्माण व्यवस्थापन तथा सगर बोहराको मुख्य सहायक निर्देशन रहेको छ। ‘कमला मिस’लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij