Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा नबस्न निर्देशन दिएका छन्। बागमती प्रदेश जागरण अभियानको उद्घाटन गर्दै ओलीले एमालेले गरेका कामहरू ऐतिहासिक रहेको भन्दै छाती फुलाएर जनताको बिचमा जान नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

पछिल्लो समय एमालेमाथि चौतर्फी हमला भइरहेको र पार्टीले केही गम्भीर धक्का सहेको स्वीकार गर्दै उनले एमालेलाई सतिसालसँग तुलना गरे। ‘जसले हिम्मत गर्छ, त्यसले मात्रै बादशाहलाई घोडाबाट झार्न सक्छ, कायरहरूले सक्दैनन्,’ चिनियाँ नेता माओत्सेतुङको भनाइ उद्धृत गर्दै ओलीले भने, ‘नेकपा एमाले सतिसालभन्दा हजार गुणा बलियो सतिसाल हो, यो कठिनाइका बेला पनि उभिन्छ र धक्काहरू खाएर पनि फेरि उठ्छ।’ 

उनले नदी अगाडि बढ्दा भित्ता र घुम्तीहरूमा ठोक्किए जस्तै पार्टीको जीवनमा पनि अनेक व्यवधान आउने तर त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताए। पार्टी भित्रैबाट र बाहिरबाट एमालेलाई कमजोर बनाउने प्रयास विगतदेखि नै हुँदै आएको ओलीले स्मरण गराए। २०५४ सालको पार्टी विभाजन, तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिँदा पार्टीकै नेताहरू मन्त्री खान गएको प्रसङ्गदेखि तत्कालीन नेकपाकालमा आफू विरुद्ध ल्याइएको १९ पृष्ठ लामो आरोप पत्र र त्यसपछिको विभाजनसम्मका दृष्टान्त पेस गर्दै उनले पार्टी अलि बलियो र सफल हुन थालेपछि प्रहार सुरु हुने गरेको जिकिर गरे। 

उनले भने, ‘जब हामी सफलताका साथ अगाडि बढ्छौँ, तब हाम्रा विरुद्ध आक्रमण भइहाल्छ। तर हामी यस्ता षड्यन्त्रबाट जोगिएर स्पष्टताका साथ अगाडि बढ्नुपर्छ।’ एमालेले अँगालेको मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) को बाटो बिल्कूल सही रहेको र यसमा कुनै पुनर्विचार गरिरहनु नपर्ने ओलीको ठोकुवा थियो। उनले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै नेपाली विशेषताको समाजवाद भएको बताउँदै पार्टीको वैचारिक र साङ्गठनिक नीतिमा कुनै अलमल नरहेको दाबी गरे।

पार्टीले कामै गरेन, नीति नै भएन भनेर आत्मालोचना गर्दै जनतामा जाने प्रवृत्तिको उनले कडा आलोचना गरे। सामाजिक सञ्जालमा एमालेविरुद्ध नियोजित रूपमै गलत भाष्य निर्माण गरिएको भन्दै उनले विरोधीका कुप्रचारको डटेर प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिए। ‘हामीले केही गरेनौँ, गल्ती गरियो प्रभु माफ पाउँ भन्दै जाने होइन। हामीले असाधारण ऐतिहासिक उपलब्धिहरू हासिल गरेका छौँ, गर्व गर्नुस्,’ ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘तपाईँहरू वैचारिक र साङ्गठनिक सेनापतिका रूपमा जनतामा जानुपर्छ, अलमल गराउने होइन, जागरण ल्याउने काम गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट