Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनबाट बागमती प्रदेश खेलकुदमा सहभागी हुने खेलाडीलाई खेल सामग्रीसहित बिदाई

चितवनबाट बागमती प्रदेश खेलकुदमा सहभागी हुने खेलाडीलाई खेल सामग्रीसहित बिदाई

चितवन : तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने चितवनका खेलाडी तथा प्रशिक्षकलाई खेल सामग्रीसहित भव्य रूपमा बिदाई गरिएको छ। चितवन जिल्ला खेलकुद विकास समितिले सोमबार आयोजना गरेको कार्यक्रममा खेलाडीलाई ट्र्याकसुटसहित बिदाई गरिएको हो।

प्रतियोगिता आगामी असार ३ देखि ९ गतेसम्म मकवानपुरको हेटौंडा, काठमाडौं, ललितपुर र चितवनमा आयोजना हुँदैछ। सो प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकलाई समितिका अध्यक्ष राजन कार्कीलगायतले खेल सामग्री हस्तान्तरण गर्दै बिदाई गरेका हुन्। समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई ट्र्याकसुटसहित बिदाई गरिएको यो पहिलो पटक हो। यसबाट खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समितिले फुटबल, क्रिकेट, भलिबल (महिला–पुरुष), बक्सिङ, एथ्लेटिक्स, ब्याडमिन्टन, पौडी, उसु, बुद्धिचाल, जुडो र टेबल टेनिसलगायत विभिन्न खेलका २०५ जना खेलाडी तथा प्रशिक्षकलाई बिदाई गरेको हो।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष कार्कीले खेलाडीलाई अभिभावकत्व प्रदान गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए। उनले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई शुभकामना पनि दिएका छन्। प्रतियोगिता अन्तर्गत चितवनमा कराते र महिला क्रिकेटका खेलहरू आयोजना हुनेछन् भने अन्य खेलहरू हेटौंडा, काठमाडौं र ललितपुरमा सञ्चालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट