Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इच्छाकामनामा भैँसीपालन प्रवर्द्धन कार्यक्रम, किसानलाई अनुदानमा दुहुना भैँसी हस्तान्तरण

इच्छाकामनामा भैँसीपालन प्रवर्द्धन कार्यक्रम, किसानलाई अनुदानमा दुहुना भैँसी हस्तान्तरण

चितवन : चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले भैँसीपालन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत वडा नं. ४ का किसानलाई अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार बागमती प्रदेश सरकार र गाउँपालिकाको सशर्त अनुदानमा सञ्चालित कार्यक्रममार्फत निर्माण गरिएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमनसमेत गरिएको छ।

गाउँपालिकाका अनुसार भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गोठ निर्माणका लागि २० जना र दुहुना भैँसी खरिदका लागि ३५ जना किसानले आवेदन दिएका थिए। हालसम्म २० जना किसानले दुहुना भैँसी खरिद गरिसकेका छन्। गाउँपालिकाले ती किसानका गोठमै पुगेर अनुगमन गर्नुका साथै भैँसी हस्तान्तरण गरेको जनाएको छ। अध्यक्ष गुरुङले ५० प्रतिशत अनुदानअन्तर्गत प्रतिकिसान अधिकतम ७५ हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइएको जानकारी दिनुभयो। यस कार्यक्रमका लागि गाउँपालिकाले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

उहाँले व्यावसायिक पशुपालनमार्फत किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। चालु आर्थिक वर्षमा वडा नं. ५ मा व्यावसायिक गाईपालन तथा वडा नं. ६ मा बाख्रापालनका लागि व्यवस्थित खोर निर्माणमा समेत अनुदान उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले किसानको मागका आधारमा विभिन्न पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ। वडा नं. ३ मा सुन्तला प्रवर्द्धन तथा वडा नं. १ र २ मा तरकारी उत्पादन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। भैँसी तथा बाख्रापालन गर्दै आउनुभएकी कुरिनटारकी किसान सावित्री त्रिपाठीले गाउँपालिकाको अनुदान कार्यक्रमले किसानलाई ठूलो राहत पुगेको बताउनुभयो। उहाँका अनुसार हाल दैनिक आठदेखि नौ माना दूध बिक्री गरेर राम्रो आम्दानी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट