Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा बर्ड फ्लू संक्रमण पुष्टि, ३८ हजारभन्दा बढी कुखुरा नष्ट

चितवनमा बर्ड फ्लू संक्रमण पुष्टि, ३८ हजारभन्दा बढी कुखुरा नष्ट

चितवन : चितवनको खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक पोल्ट्री फार्ममा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा एच–फाइभ–एन–वान) संक्रमण पुष्टि भएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जेठ २३ गते प्रयोगशाला परीक्षणबाट संक्रमण पुष्टि भएपछि जेठ २४ गतेदेखि नियन्त्रण तथा रोकथामका लागि कुखुरा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो। तीन दिनसम्म चलेको अभियानमा फार्ममा रहेका सबै ३८ हजार २०० लेयर्स कुखुरा, १ हजार ४०५ पेटी अण्डा तथा १२ टन दाना नष्ट गरिएको उहाँले जानकारी दिनुभयो।

संक्रमण थप फैलिन नदिन आवश्यक जैविक सुरक्षा मापदण्ड अपनाउँदै मंगलबार फार्म क्षेत्रको पूर्ण सरसफाइ तथा निसंक्रमण (डिसइन्फेक्सन) गरी सिल गरिएको कार्यालयले जनाएको छ।पशु सेवा कार्यालयका अनुसार प्रभावित क्षेत्रको निगरानी बढाइएको छ भने आसपासका पोल्ट्री फार्महरूमा समेत सतर्कता अपनाउन निर्देशन दिइएको छ। बर्ड फ्लू अत्यधिक संक्रामक रोग भएकाले संक्रमण फैलिन नदिन तत्काल नियन्त्रणका उपायहरू अवलम्बन गरिएको जनाइएको छ।

चितवनमा पछिल्लो समय बर्ड फ्लूका घटना दोहोरिन थालेका छन्। यसअघि चैत १२ गते भरतपुर महानगरपालिका–४ स्थित एक फार्ममा पनि बर्ड फ्लू संक्रमण पुष्टि भएको थियो। उक्त घटनापछि १७ हजार ८७० लेयर्स तथा ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो। लगातार दोस्रोपटक बर्ड फ्लू देखिएसँगै चितवनका पोल्ट्री व्यवसायीहरू थप चिन्तित बनेका छन्। सम्बन्धित निकायले भने रोगको जोखिम न्यूनीकरणका लागि जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र कुनै अस्वाभाविक लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट