Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा रास्वपाको प्रथम महाधिवेशनको तयारी तीव्र, ३ हजार ५ सय प्रतिनिधि सहभागी हुने अपेक्षा

चितवनमा रास्वपाको प्रथम महाधिवेशनको तयारी तीव्र, ३ हजार ५ सय प्रतिनिधि सहभागी हुने अपेक्षा

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा चितवनमा तयारी तीव्र बनाइएको छ। आगामी असार ७, ८ र ९ गते आयोजना हुने महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले १८ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ।

महाधिवेशनका लागि उद्घाटन तथा बन्दसत्र स्थल छनोटको काम अन्तिम चरणमा पुगेको छ। रास्वपाका केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक राजन गौतमका अनुसार मौसमको अवस्था र सहभागीको संख्या विचार गर्दै भरतपुरस्थित नारायणी नदी किनार, चितवन औद्योगिक प्रदर्शनी केन्द्र तथा रत्ननगरस्थित होटल स्टार बैंक्वेटलाई सम्भावित स्थलका रूपमा अध्ययन गरिएको छ। हालसम्मको छलफलअनुसार होटल स्टार बैंक्वेट महाधिवेशनको प्रमुख स्थल बन्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो।

स्थल व्यवस्थापनका लागि केही साताअघि पार्टीका महामन्त्री भूपदेव शाह समेत चितवन आएर स्थलगत निरीक्षण गर्नुभएको थियो। महाधिवेशन सफल बनाउन पार्टीले विभिन्न कोणबाट तयारीलाई तीव्रता दिएको जनाएको छ।

महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ। पार्टीले वडा र नगर अधिवेशन सम्पन्न गरी प्रतिनिधि चयन गरिसकेको छ भने हालसम्म ६४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। केन्द्रीय संगठन विभाग सचिव तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य शंकर श्रेष्ठका अनुसार जिल्ला र प्रदेशस्तरको प्रतिनिधित्व टुंगिएपछि करिब ३ हजार ५ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

यद्यपि धनुषा, बारा, रौतहट, महोत्तरी, सर्लाही, सिराहा, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, रुकुमपूर्व, हुम्ला र जुम्ला लगायत १३ जिल्लामा विभिन्न कारणले अधिवेशन हुन बाँकी रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको भए पनि बागमती, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिवेशन अझै सम्पन्न हुन सकेका छैनन्। श्रेष्ठका अनुसार कोशी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन क्रमशः जेठ २९, ३०, ३१ र असार १ गतेका लागि तय गरिएको छ। बागमती र मधेस प्रदेशमा भने सहमतिको प्रयास जारी रहेको उहाँले बताउनुभयो।

महाधिवेशनमा विदेशस्थित पार्टी संगठनबाट समेत प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। हाल ३२ देशमा संगठन विस्तार भएको र प्रत्येक देशबाट दुईदेखि ११ जनासम्म प्रतिनिधित्व हुन सक्ने भए पनि अन्तिम संख्या भने अझै टुंगो लागिसकेको छैन। विदेश तथा देशभित्रका प्रतिनिधिहरूको विवरण पार्टीको अनलाइन प्रणालीमा दर्ता गर्ने कार्य जारी रहेको जनाइएको छ। महाधिवेशन व्यवस्थापन समितिले आर्थिक स्रोत व्यवस्थापन र निर्वाचन प्रक्रियाको तयारी समेत अघि बढाएको छ। पार्टीले खर्च न्यूनतम राख्ने नीति लिएको बताउँदै प्रत्येक प्रतिनिधिबाट तीन हजार रुपैयाँ व्यवस्थापन शुल्क संकलन गरिने जनाएको छ।

आवास व्यवस्थापनका लागि सौराहा र भरतपुर क्षेत्रका होटल व्यवसायीसँग समन्वय भइरहेको छ। संयोजक गौतमका अनुसार हाल पाँच हजार सहभागीलाई आधार मानेर होटल व्यवस्थापनबारे छलफल भइरहेको छ। चितवनका होटलहरूमा १० हजारभन्दा बढी पाहुना अट्ने क्षमता रहेको भन्दै केही दिनभित्रै आवास व्यवस्थापनको टुंगो लाग्ने उहाँले जानकारी दिनुभयो।

महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले राजनीतिक वृत्तमा यसको विशेष चासो रहेको छ। सभापति पदमा निर्वाचन हुने सम्भावना कम देखिए पनि अन्य पदका लागि प्रतिस्पर्धा हुन सक्ने केन्द्रीय नेताहरूको अनुमान छ। रास्वपाको विधानअनुसार महाधिवेशनबाट केन्द्रीय समिति चयन हुने र त्यसपछि केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ। हाल पार्टीमा १६५ सदस्यीय केन्द्रीय समिति रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट