चितवन : यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष चयन प्रक्रिया अगाडि बढेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये सात जनालाई प्रारम्भिक छनोट सूचीमा समावेश गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार डा. अजयकुमार झा (धनुषा), डा. जया श्रेष्ठ (चितवन), डा. भावना वाग्ले (चितवन), डा. योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. लक्ष्मीनारायण सिंह (महोत्तरी), डा विजयचन्द्र आचार्य (चितवन) र डा.विश्वराम पौडेल (रामेछाप) छनोट प्रक्रियाको अर्को चरणमा प्रवेश गर्नुभएको छ ।
मन्त्रालयले प्रारम्भिक सूचीमा परेका उम्मेदवारलाई आगामी असार १ गते अपराह्न ५ बजेसम्म आफ्नो कार्ययोजना तथा संस्थागत सुधारसम्बन्धी दृष्टिकोण समेटिएको अधिकतम तीन हजार शब्दको ‘सोचपत्र’ इमेलमार्फत पेश गर्न आग्रह गरेको छ। उक्त सोचपत्रका आधारमा उम्मेदवारको नेतृत्व क्षमता, संस्थागत विकाससम्बन्धी अवधारणा तथा अस्पताल सुधारका योजनाको मूल्याङ्कन गरिने जनाइएको छ।
यसपटक अध्यक्ष नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत योग्य व्यक्ति छनोट गर्ने प्रक्रिया अवलम्बन गरेको मन्त्रालयले अध्यक्ष पदका लागि गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो। निर्धारित समयसीमाभित्र आठ जनाको आवेदन परेको मन्त्रालयको भनाइ छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष पदका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ। साथै क्यान्सर रोगसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको व्यक्ति मात्र अध्यक्ष पदका लागि योग्य हुने प्रावधान रहेको छ। मन्त्रालयले सोचपत्र मूल्याङ्कन तथा अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरी अन्तिम रूपमा अध्यक्ष चयन गर्ने जनाएको छ । अस्पतालमा अध्यक्ष लगायतको बोर्ड नहुँदा बजेट निकासा रोकिएर कर्मचारीहरुले तलब खान पाएका छैनन् भने विभिन्न खरिदको भुक्तानी समेत रोकिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij