Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

शेल कम्पनी खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा ओमप्रसाद पाण्डे पक्राउ

शेल कम्पनी खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा ओमप्रसाद पाण्डे पक्राउ

काठमाडौँ : शेल कम्पनी र कृत्रिम व्यवसाय खडा गरी प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा दुरुपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधवार धनुषाबाट पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका वडा नं। ९ रातोपुल बस्ने पाण्डे राम जानकी हेल्थ फाउन्डेसनको सञ्चालक समितिका अध्यक्ष हुन् । उनले महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्राइभेट लिमिटेड’ नामक शेल कम्पनी खडा गरेका थिए । 

सोही कम्पनीको एकल सञ्चालक समेत रहेका पाण्डेले विना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी बैंकबाट कर्जा लिएको सीआईबीले जनाएको छ ।

प्रभु बैंक लिमिटेडबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो, सो कार्यमा नलगाई अन्यत्रै प्रयोग गरी पटक(पटक कर्जाको दुरुपयोग गरेको र बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुर गरेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।

उच्च अदालत पाटन, ललितपुरबाट मिति २०८२ मङ्सिर २८ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर फरार रहेका पाण्डेलाई सीआईबीको टोलीले बुधवार धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं. १ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका पाण्डेमाथि बैंकिङ कसुर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट