Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पोखरामा पानी पर्ने सम्भावना सबैभन्दा धेरै, देशका केही भागमा ‘तातो दिन’

पोखरामा पानी पर्ने सम्भावना सबैभन्दा धेरै, देशका केही भागमा ‘तातो दिन’

काठमाडौँ : मंगलबार देशभरको मौसम मिश्रित रहने देखिएको छ। सहरहरूको मौसम पूर्वानुमान अनुसार तराईका धेरैजसो शहरहरूमा अत्यधिक गर्मी हुनेछ भने पहाडी र हिमाली भेगका शहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी तराईका सहरहरूमा आज निकै गर्मी महसुस हुनेछ। पूर्वानुमान अनुसार सिमरा, विराटनगर र जनकपुरमा आज दिउँसो ‘तातो दिन’ रहनेछ। यी शहरहरूमध्ये विराटनगर, जनकपुर र भैरहवाको अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

त्यसैगरी, सिमराको अधिकतम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियस रहनेछ। भैरहवा, घोराही र धरानमा दिउँसो आंशिक बादल लागे पनि रातिको समयमा भने आकाश मुख्यतया सफा रहनेछ र यी स्थानमा वर्षाको कुनै सम्भावना छैन। यता, संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका प्रमुख पहाडी शहरहरूमा भने वर्षाको सम्भावना रहेको छ। काठमाडौंमा दिउँसो ४० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङका साथ मध्यम वर्षा हुने अनुमान छ भने यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहनेछ। रातिको समयमा भने काठमाडौंमा आंशिक बादल मात्र लाग्नेछ र वर्षाको सम्भावना छैन।

आज सबैभन्दा धेरै पानी पर्ने सम्भावना पोखरामा देखिएको छ। पोखरामा दिउँसो ६० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङका साथ मध्यम वर्षा हुने र राति पनि ४० प्रतिशत सम्भावनासहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। यसका साथै डडेलधुरा, दिपायल, ओखलढुंगा, धनकुटा, जिरी र ताप्लेजुङमा पनि दिउँसो ४० प्रतिशतदेखि ३० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङका साथ मध्यम वर्षा हुने पूर्वानुमान छ। यस्तै, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, जुम्ला र जोमसोममा भने दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ।

तराईका सहरहरू धनगढी, वीरेन्द्रनगर र नेपालगन्जमा राति पानी पर्ने सम्भावना नभई आंशिक बादल लाग्नेछ भने जुम्ला, जोमसोम, डडेलधुरा, दिपायल र ताप्लेजुङमा राति पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्नेछ। देशभरमै आज सबैभन्दा कम तापक्रम जुम्ला र जिरीमा मापन हुने अनुमान छ। यी दुई शहरको न्यूनतम तापक्रम रातिको समयमा ९ देखि ११ डिग्री सेल्सियससम्म झर्ने पूर्वानुमान गरिएको छ जसले गर्दा त्यहाँ चिसो महसुस हुनेछ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट