भरतपुर : आदर्श गृह नेपालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेललाई स्वागत तथा सम्मान गरेको छ। गणतन्त्र दिवसको अवसरमा शुक्रबार भरतपुर–४ स्थित संस्थाको भवनमा आयोजित कार्यक्रममा एसपी पौडेललाई खादा तथा फूलगुच्छा प्रदान गर्दै स्वागत गरिएको हो। कार्यक्रममा बोल्दै एसपी पौडेलले चितवनको शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूलाई सबै पक्षबाट सहयोग आवश्यक रहेको उल्लेख गर्दै आदर्श गृहले निर्माण गर्न लागेको नयाँ भवनप्रति खुशी व्यक्त गरे। साथै संस्थामा आश्रित बालबालिकाले भविष्यमा प्रहरी तथा सरकारी सेवामा जान चाहे आवश्यक मार्गदर्शन र सहयोग उपलब्ध गराउने बताए। संस्थाकी संस्थापक अध्यक्ष मिना कुमारी खरेलले एसपी पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विगतदेखि नै प्रहरी प्रशासनको सहयोगले संस्थाको कामलाई सहज बनाएको बताइन्। उनले भरतपुर महानगरपालिका–१५, विश्वप्रकाश टोलमा नयाँ भवन निर्माण कार्य सुरु गरिएको जानकारी दिँदै भवन सम्पन्न गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले आदर्श गृहले महिला तथा बालबालिकाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आदर्श गृह नेपालका अनुसार संस्थाले हालसम्म १ हजार २ सय २६ जनाभन्दा बढीको उद्धार, १ हजार १ सय ८१ जनाको पारिवारिक पुनर्मिलन तथा २ सय ३४ जनालाई कानुनी न्याय दिलाउन सहयोग गरेको छ। हाल संस्थामा ३४ जना आश्रित रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij