Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट

नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट

काठमाडौँ : नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट सुरु हुन लागेको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिउँसो १२:१५ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा महाधिवेशन उद्घाटन गर्ने भएका छन्

संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ। महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने तथा थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।

थारु संघको यो पहिलो महाधिवेशनलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका शीर्ष नेताहरू, थारु समुदायका अगुवा व्यक्तित्वहरू, विभिन्न जिल्लाबाट आउने प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ।

संघका नेताहरूका अनुसार थारु समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा प्रतिनिधित्वका सवाललाई सशक्त रूपमा उठाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा संगठनलाई अझ सक्रिय बनाउने उद्देश्यसहित महाधिवेशन आयोजना गर्न लागिएको हो। महाधिवेशनले थारु समुदायलाई संगठित गर्दै नेपाली कांग्रेसभित्र थारु समुदायको भूमिका र सहभागिता थप सशक्त बनाउने विश्वास गरिएको छ। 

उद्घाटन समारोहसँगै महाधिवेशनका विभिन्न सत्रहरूमा संगठनको भावी रणनीति, नीति तथा कार्यक्रममाथि व्यापक छलफल हुने कार्यक्रम छ। महाधिवेशनका लागि थारु समुदायका सयौँ नेता तथा कार्यकर्ताहरु काठमाडौँ आईसकेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट