Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सौराहामा ‘ई–सेवा ह्याकाथन–२०२६’ हुने, ६३ युवा प्रतिस्पर्धामा सहभागी हुने

सौराहामा ‘ई–सेवा ह्याकाथन–२०२६’ हुने, ६३ युवा प्रतिस्पर्धामा सहभागी हुने

भरतपुर : नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक ई–सेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म चितवनको सौराहामा ‘ई–सेवा ह्याकाथन–२०२६’ आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षण क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी सँगको सहकार्यमा ह्याकाथन आयोजना गर्न लागिएको हो ।

ई–सेवाले विगत १७ वर्षदेखि सहज तथा सुरक्षित डिजिटल भुक्तानी प्रणालीको विकास, डिजिटल अर्थतन्त्र विस्तार र वित्तीय समावेशीकरणका क्षेत्रमा काम गर्दै आएको छ । नियमित सेवा सञ्चालनसँगै कम्पनीले नवप्रवर्तन, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरु सहभागी हुनेछन् ।

ह्याकाथनबारे जानकारी दिँदै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले युवाहरुमा समस्या समाधानमुखी सोच विकास गर्न, प्रविधिमैत्री समाधान निर्माण गर्न तथा दिगो विकासमा योगदान पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार ‘ई–सेवा ह्याकाथन–२०२६’ ले डिजिटल प्रणाली, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासम्बन्धी प्रभावकारी समाधान निर्माण गर्न डेभलपर, डिजाइनर र इन्नोभेटरहरुलाई एउटै मञ्चमा ल्याउनेछ । यसले युवाहरुमा नवप्रवर्तनात्मक सोच र सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै सुरक्षित फिनटेक इकोसिस्टम निर्माण र पर्यावरण संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिस्पर्धामा सहभागी टोलीहरुले तत्काल प्रयोगमा ल्याउन सकिने फिनटेक डिजाइन तथा समाधानका प्रोटोटाइप प्रस्तुत गर्नेछन् । ह्याकाथन अवधिभर सहभागीहरुलाई फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका विज्ञद्वारा प्रत्यक्ष मेन्टरसिप तथा विधागत मार्गदर्शन प्रदान गरिने आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने आवासीय प्रतियोगितामा उत्कृष्ट समाधान प्रस्तुत गर्ने टोलीहरुलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख रुपैयाँ, द्वितीय हुने टोलीले दुई लाख रुपैयाँ तथा तृतीय हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट