काठमाडौँ : नेताहरूको कार्य विभाजन र निर्वाचनको समग्र समीक्षा गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक शनिबार पनि बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार बसेको बैठकको निरन्तरता स्वरुप शनिबार पनि बैठक बसेको हो । शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टपछि ९ जना सचिवहरूले धारणा राख्दैछन् । शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना उपाध्यक्षहरूले ओलीलाई अध्यक्षबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए ।
उपाध्यक्षहरूले दिएको सुझाव स्वीकार्नुको साटो ओलीले पुनगर्ठनको माग गर्ने नेता कार्यकर्ताहरूमाथि कारबाही गर्ने सङ्केत गरेपछि शुक्रबारको बैठक तनावपूर्ण बनेको थियो । त्यसक्रममा अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा बादलसँग अन्य उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङबिच नोंकझोक नै चलेको थियो । आफुविरुद्ध विगतमा आफुलाई सघाउँदै आएका सचिवालयकै नेताहरूले राजीनामा मागेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अघि बढ्न सकिने आशय व्यक्त गरेका थिए ।
अध्यक्ष ओलीलाई केन्द्रीय कमिटीभित्र आफू बहुमतमा रहेको विश्वास छ । तर, शनिबारको बैठकमा पनि केही पदाधिकारीले ओलीको राजीनामा माग्ने तयारी गरेको एक नेताले बताए । ‘अब ओलीबाट पार्टी चल्दैन भन्ने निश्चित जस्तै भएको छ । यस्तो अवस्थामा उहाँले मार्ग प्रशस्त गरेर आफ्नो बचेखुचेको इमेज जोगाउनुपर्छ भन्ने हो’, एक सचिवालय सदस्यले भने, ‘बैठकमा उहाँको विकल्पमा कुरा उठ्छ ।’
चार जना उपाध्यक्ष ओलीको विपक्षमा उभिएसँगै एमालेका अन्य सदस्यहरू पनि विपक्षमा उभिने आकलन भइरहेको छ । १९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्र अडिग देखिन्छन् । बदलिएको परिस्थितिमा केही नेताहरू नखुले पनि ओलीलाई साथ दिने पक्षमा नरहेको एक नेताको भनाइ छ । पछिल्लो समय महासचिव शङ्कर पोखरेल र विष्णु पौडेल समेत ओलीको विकल्पमा उभिएपछि उपमहसचिव लेखराज भट्ट, रघुवीर महासेठ, सचिवहरू हिक्मत ढकाल, शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र यमलाल कँडेल पनि उनीहरूसँगै उभिने बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij