बागलुङ : पश्चिम बागलुङको बडिगाड गाउँपालिका मा जंगलबाट ल्याएको जंगली भ्याकुर खाँदा एक महिलाको मृत्यु भएको छ भने अन्य आठ जना बिरामी परेका छन्।
मृत्यु हुनेमा बडिगाड गाउँपालिका–५ दाग घर भई हाल खार बजारमा बस्दै आएकी ७२ वर्षीया फिरमकुमारी घिमिरे रहेकी छन्। इलाका प्रहरी कार्यालय बुर्तिवाङ का अनुसार भ्याकुर सेवनपछि उनको घरमै मृत्यु भएको हो। प्रहरी निरीक्षक तिलक मानन्धर का अनुसार दीर्घरोगबाट पीडित घिमिरेले जंगलबाट ल्याइएको भ्याकुर खाएपछि स्वास्थ्य समस्या देखिएको थियो।
घटनामा बडिगाड–५ खारका ५५ वर्षीया दुरपती कामी, ५५ वर्षीय विष्णु घिमिरे, २३ वर्षीया शारदा न्यौपाने, ४३ वर्षीय सुरेन्द्र विक, ६३ वर्षीय भोजराज घिमिरे, ६२ वर्षीया पुतली घिमिरे, ६५ वर्षीय खिमानन्द घिमिरे र १४ वर्षीय अविसन घिमिरे बिरामी परेका छन्। तीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बिरामी सबैको बुर्तिबाङ अस्पताल मा उपचार भइरहेको अस्पतालकी सूचना अधिकारी पार्वती अर्याल ले जानकारी दिइन्। उनका अनुसार बिरामीहरूमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने तथा बान्ता हुने लक्षण देखिएको छ। स्थानीयका अनुसार उनीहरू आइतबार नियमित रूपमा निगुरो टिप्न जंगल गएका थिए। सोही क्रममा जंगलबाट ल्याएको भ्याकुर खाजाका रूपमा खाएपछि उनीहरूको स्वास्थ्यमा समस्या देखिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij