काठमाडौँ : सडक डिभिजन कार्यालय महेन्द्रनगरले महेन्द्र राजमार्गको चिसापानी–अत्तरिया–गड्डाचौकी सडक खण्डमा भएको अतिक्रमण हटाउन १५ दिने अन्तिम चेतावनी दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले सडक सीमाभित्र रहेका अवैध संरचनाहरू हटाउन निर्देशन दिएको हो।
सडक डिभिजनका अनुसार राजमार्गको केन्द्रबिन्दुबाट दायाँ र बायाँ २५–२५ मिटर सडक सीमा कायम गरिएको छ । उक्त क्षेत्रभित्र सडक विभागको स्वीकृति बिना बनाइएका स्थायी वा अस्थायी घर, टहरा, पसल र अन्य संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा हटाउन भनिएको छ ।
सार्वजनिक सडक ऐन, २०३१ अनुसार सूचनामा सडक सीमाभित्र स्थायी वा अस्थायी घर टहरा निर्माण गर्न, निर्माण सामग्री वा अन्य माल वस्तु बिक्रीका लागि राख्न निषेध गरिएको छ । यस्तै, नाली पुरे प्रवेशमार्ग बनाउने वा सडक संरचना भत्काउने, ढल तथा पानी सडक किनाराको नालामा मिसाउने, यातायात सञ्चालन र सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कुनै पनि कार्य गर्ने गर्न निषेध भएको जनाएको छ ।
तोकिएको १५ दिनको समयावधिभित्र अतिक्रमण नहटाएमा सडक डिभिजन कार्यालयले सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को उपदफा ९३० बमोजिम आफैँले ती संरचनाहरू भत्काउने चेतावनी दिएको छ । यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने ब्यहोरा सूचनामा स्पष्ट पारिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij