धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आजदेखि धनगढीमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको यो दुई दिने भेलाले पार्टीभित्र नयाँ उत्साह र उर्जा थपेको बताइएकाे छ।
सभापतिमा निर्वाचित भएपछि पहिलो पटक सुदूरपश्चिम पुगेका गगन थापाको उपस्थितिले भेलालाई थप अर्थपूर्ण बनाएको बताइएको छ। आयोजकले करिब ३ सय जनाको सहभागिता रहने प्रारम्भिक अनुमान गरे पनि अपेक्षाभन्दा निकै बढी अर्थात् १ एक हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रम स्थल खचाखच भरिएको नेता भीम बडुवालले जानाकरी दिए।
उनका अनुसार सुदूरपश्चिमका ९ वटा जिल्लाका सभापतिहरू र १६ जनामध्ये १४ जना प्रतिनिधिसभा सदस्य तथा उम्मेदवारहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ। नेता बडुवालका अनुसार यो भेला औपचारिक कार्यक्रम मात्र नभई पार्टीलाई तल्लो तहदेखि नै बलियो बनाउने जरा अभियानको रुपमा पार्टीले हेरेको छ।
भेलाको पहिलो दिन विगतको संसदीय निर्वाचनको गम्भीर समीक्षा गरिएको छ भने दोस्रो दिन प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन तथा पार्टीसँगको समन्वयबारे छलफल हुनेछ। पार्टीले कहाँ सुधार गर्नुपर्छ र आगामी दिनमा कुन दिशामा अघि बढ्नुपर्छ भन्नेबारे ग्रास रुटबाटै सुझाव संकलन गर्नु यसको मुख्य उद्देश्य रहेको नेताहरुले बताएका छन् ।भेलामा पार्टीभित्रका विभिन्न पक्षहरूको सक्रिय सहभागिता रहेको छ। छलफलका क्रममा नेतृत्व, टिकट वितरण र पार्टीको कार्यशैलीका बारेमा उठेका प्रश्नहरूलाई कांग्रेसको आन्तरिक लोकतन्त्रको सुन्दरताका रूपमा लिइएको छ।
‘पार्टी किन पछाडि पर्यो र अब के गर्नुपर्छ भन्नेबारे हामी कुनै सतही होइन, गम्भीर र गहन छलफलमा छौँ,’ नेता बडुवालले भने। पार्टीले कुनै बाह्य स्रोत वा चन्दाको भर नपरी सहभागी प्रत्येक कार्यकर्ताबाट २ हजार पाँच सय रुपैयाँ लेभी संकलन गरी कार्यक्रमको खर्च व्यवस्थापन गरेको नेता बडुवालले जानकारी दिए। सभापति थापा, उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माको विशेष भूमिका रहेको यस कार्यक्रममा पार्टीका महामन्त्री गुरुराज घिमिरे लगायतका शीर्ष नेताहरूले प्रशिक्षण दिइरहेका छन् । दुई दिनसम्म चल्ने यो भेलाले सुदूरपश्चिममा नेपाली कांग्रेसको आगामी रणनीति तय गर्ने विश्वास गरिएको नेता बडुवालको विश्वास छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij