काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बागमती प्रदेशका मुख्यमन्त्री तथा बागमती प्रदेशका पार्टी सभापति इन्द्र बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरिरहेको अनुसन्धानबारे धारणा सार्वजनिक गरेका छन् ।
प्रवक्ता चालिसेले विधिको शासन लोकतन्त्रको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य भएको बताएका छन् ।
‘कानुनको दृष्टिमा सबै नागरिक समान हुन्छन् र कोही पनि कानुनभन्दा माथि हुँदैन । राज्यले कानुनसम्मत रूपमा गर्ने अनुसन्धानमा सहयोग गर्नु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य हो,’ प्रवक्ता चालिसेले भने । मुख्यमन्त्री बानियाँले आफूमाथि भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता जनाइसकेको भन्दै प्रवक्ता चालिसेले बानियाँको त्यस कदमलाई लोकतान्त्रिक संस्कार र राजनीतिक परिपक्वताको संज्ञा दिएका छन् ।
प्रवक्ता चालिसेले कानुनी प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा राज्यका निकायहरूलाई ‘उचित कानुनी प्रक्रिया’ पालना गर्न सचेत गराएको छ । अनुसन्धान निष्पक्ष, पारदर्शी र पूर्वाग्रहमुक्त हुनुपर्नेमा चालिसेले बताए । ‘विधिको शासनमा कानुन हिजो सत्तामा रहेका, आज रहेका वा भोलि रहने सबैका लागि समान रूपमा लागू हुनुपर्छ,’ चालिसेले भने ।
उनले राज्यका संस्थाहरूलाई राजनीतिक पूर्वाग्रह वा सार्वजनिक हल्लाका भरमा नभई तथ्य र प्रमाणका आधारमा मात्र अगाडि बढ्न आग्रह गरेको छ । साथै, सरकारका कुनै पनि कारबाही ‘चयनात्मक’ हुन नहुने र सबैमाथि समान मापदण्ड अपनाउनुपर्ने चालिसेको भनाइ छ । राज्यको अनुसन्धानमा कुनै अवरोध नपुर्याई सहयोग गर्न नेता–कार्यकर्तालाई आग्रह गर्दै चालिसेले सरकार र सम्बन्धित निकायहरूलाई विधिसम्मत ढङ्गले काम गर्न आग्रह गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij