Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बागलुङको विकट देउरालीखानीमा घरघरै धारा

बागलुङको विकट देउरालीखानीमा घरघरै धारा

बागलुङ : बागलुङको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकस्थित देउरालीखानीका बासिन्दाले लामो समयपछि सहज रूपमा स्वच्छ खानेपानी पाएका छन्।

गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नगरपालिकाको समन्वय र स्थानीयको श्रमदानमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएपछि गाउँमा खुसियाली छाएको हो। माझगाउँको शिरमा रहेको छेरछेरे मूलको पानी सङ्कलन गरी वितरण गरिएको यस योजनाबाट देउरालीखानीका ३४ घरधुरीका साथै विद्यालय र खोप क्लिनिक गरी कुल ३६ वटा धारा निर्माण भएका छन्।

योजना सम्पन्न गर्न गोर्खा वेलफेयरको ३६ लाख र स्थानीयको नौ लाख बराबरको श्रमदान गरी कुल ४५ लाख रुपैयाँ खर्च भएको देउरालीखानी माझगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वेदबहादुर छन्त्यालले जानकारी दिए। यसअघि २०५३ सालमा निर्माण गरिएको जीर्ण योजना र सामूहिक धाराका कारण स्थानीयले सास्ती भोग्दै आएका थिए। अहिले घरघरमै चौबिसै घण्टा फिल्टर गरिएको स्वच्छ पानी आउन थालेपछि दैनिक उपभोग र पशुचौपायाका लागि निकै सजिलो भएको स्थानीय जमुना छन्त्यालले बताइन्।

जनजातिको बाक्लो बस्ती रहेको र प्राङ्गारिक गाउँका रूपमा चिनिने देउरालीखानीमा भएको यो सुधारलाई दिगो राख्न नगरपालिकाले पूर्ण साथ दिने नगरप्रमुख हरिहर शर्माले प्रतिबद्धता जनाएका छन्। दुरदराजका नागरिकका न्यूनतम आवश्यकता पूरा गर्न सीमित स्रोतका बाबजुद पनि स्थानीय सरकार सधैँ तत्पर रहने उनले उल्लेख गरे। आँगनमै धारा बनेपछि माझगाउँवासीले पानीका लागि खेप्नुपर्ने पुरानो सास्तीबाट मुक्ति पाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट