Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

देउवा समूहले भन्यो – क्रियाशील सदस्यता नेताको लहडमा खारेज हुन सक्दैन

देउवा समूहले भन्यो – क्रियाशील सदस्यता नेताको लहडमा खारेज हुन सक्दैन

काठमाडौँ : नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको क्रियाशील सदस्यता कनै पनि नेताको लहडमा खारेज नहुने बताएको छ । बुधबारदेखि ३ दिनसम्म काठमाडौँको महाराजगञ्जस्थित स्माट होटलमा भएको भेलाले ११ बुँदे निर्णय गर्दै पार्टीको क्रियाशील सदस्यता नेताको लहडमा खारेज हुन नसक्ने बताएको हो।

बिहीबार बैठकपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा कुनै नेताको आवेग, उत्तेजना वा लहडका भरमा पार्टीका योद्धा र सहिद परिवारको भावनासँग जोडिएको सदस्यता खारेज हुन नसक्ने उल्लेख छ। पार्टीभित्रको विवाद र महाधिवेशनको विषयबारे छलफल गर्न बसेको भेलाले गत पुसमा सम्पन्न भएको विशेष महाधिवेशनलाई ‘कथित’ को संज्ञा दिएको छ। 

खड्काद्वारा जारी विज्ञप्तिमा एकपक्षीय रूपमा आयोजना गरिएको भनिएको विशेष महाधिवेशन र त्यसबाट घोषित कार्यसमितिलाई पनि ‘कथित’ को संज्ञा दिएका छन् । निर्वाचन आयोगले बहुमतका आधारमा उक्त समितिलाई मान्यता दिने निर्णय गरेकोमा असन्तुष्टि जनाउँदै खड्काले उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको उल्लेख गरेका छन्। 

‘विशेष महाधिवेशनको माग गर्ने हस्ताक्षरकर्ताहरूको नेतृत्वमा गरिएको एकपक्षीय भेला र त्यसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विधान, संविधान र कानुन विपरीत छ ,’ खड्काले विज्ञप्तिमा लेखेका छन् । केन्द्रीय समितिले समितिले १५औँ महाधिवेशनका लागि वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यता खारेज गर्ने भनी दिएको अभिव्यक्तिप्रति खड्काले आपत्ति जनाएका छन् । ‘निर्दलीय पञ्चायती व्यवस्थामा ज्यान हत्केलामा राखेर लिएको सदस्यता कुनै नेताको हारजीतसँग मात्र होइन, लोकतन्त्रको लडाइँ र सहिदको सम्मानसँग जोडिएको छ,’ खड्काले विज्ञप्तिमा लेखेका छन्। 

खड्काले महाधिवेशनको वैधानिक व्यवस्थाबाहेक कसैले पनि सदस्यता खारेज गर्न नसक्ने र १५औँ महाधिवेशन नै नभई फेरि नवीकरणको कुरा गर्नु पूर्वाग्रही र आपत्तिजनक भएको बताएका छन्। मुलुक विषम राजनीतिक परिस्थितिमा रहेको बेला पार्टीभित्र एकता खोज्नुको सट्टा विभाजन र भ्रम सिर्जना गर्ने गतिविधि नगर्न उनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । खड्काले पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूलाई यस्ता भ्रामक गतिविधिबाट विचलित नभई पार्टी हितमा सक्रिय रहन हार्दिक अपिल समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट