Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रौतहटमा अलपत्र परेका पुल देखेपछि सांसदले भने– अब कुनै पनि बहाना हुँदैन

रौतहटमा अलपत्र परेका पुल देखेपछि सांसदले भने– अब कुनै पनि बहाना हुँदैन

चन्द्रपुर : रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा दर्जनभन्दा बढी पक्की पुलको काम लामो समयदेखि अलपत्र अवस्थामा छ ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण चार वटा ठूलासहित आधा दर्जनभन्दा बढी पक्की पुल बन्न सकेका छैनन् । सो क्षेत्रका सांसद रवीन्द्र पटेलले अलपत्र पारिएको ती पुलको बुधबार निरीक्षण गर्दै निर्माण प्रगतिबारे जानकारी लिनुका साथै स्थानीयवासीसँग छलफल गरेका थिए । 

लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै उनले अब यसको विस्तृत रुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए । उनले भने, 'पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने वा के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्नेबारे तत्काल निर्णय लिन सरकारको ध्यानाकर्षण गराउँछौँ ।'

सांसद पटेलले जनजीविकासँग जोडिएको रणनीतिक महत्त्वको पुल निर्माणलाई यथास्थितिमा राख्न नसकिने भएकाले चाँडै निकास हुनुपर्नेमा जोड दिए । निर्माण कम्पनीका ठेकेदारलाई पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न उनले निर्देशन पनि दिए । सांसद पटेलले विशेषगरी वर्षायाममा पुल नहुँदा खोला तर्नुपर्ने बाध्यता, दुर्घटनाको जोखिम र जनधनको क्षतिलाई गम्भीर विषयका रूपमा उठाउँदै निर्माण कम्पनीलाई जिम्मेवार बन्न आग्रह गरे । 'अब कुनै पनि बहाना हुँदैन, परिणाम देखिने गरी काम गर्नुपर्छ, थपिएको तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेमा ठेक्का रद्द गरेर निर्माण प्रक्रिया अगाडि बढाइने छ ।'

दुवैतर्फ सडक ट्र्याक खुले पनि ठेकेदार कम्पनीले पुल निर्माणको काम अलपत्र पार्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।गुजरा नगरपालिका–१ कोठियारमा रहेको कोठियार–ब्रह्मटोल, रङ्गपुरस्थित लमहा (गुजरा) खोला पुलको ठेक्का सम्झौता भएर २०७३ सालबाट निर्माण सुरु भएको थियो । सो पुलको प्रगति हालसम्म ५० प्रतिशत मात्रै छ । तीन स्पानको सुपर स्ट्रक्चर निर्माण सम्पन्न भए पनि एक्स्पान्सन जोइन्ट, एप्रोच सडक र रेलिङको काम अझै बाँकी छ ।

यस्तै पिपरियास्थित तरही खोला पुलमा करिब ४५ प्रतिशत मात्र प्रगति भएको छ । सब–स्ट्रक्चर निर्माण सकिए पनि सुपर स्ट्रक्चरको काम सुरु हुन सकेको छैन । विश्व बैंकको सहयोगमा निर्माणाधीन हर्साहा चोक–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत पर्ने नमाहा खोला पुलको प्रगति पनि हालसम्म ४५ प्रतिशतमै सीमित छ । सो पुलको निर्माण कार्य २०७३ सालमा सुरु भई २०८० असारमै सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको थियो ।

यसैगरी बालचनपुर–जङ्गलसैया सडकअन्तर्गतको लमहा नदी पुलमा भने तुलनात्मक रूपमा सकारात्मक प्रगति देखिएको छ । सो पुलको निर्माण कार्य २०७८ मा सुरु भएको र हालसम्मको प्रगति भने ५३ प्रतिशत रहेको छ । सो पुल निर्माण कार्य २०८२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट