Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अध्यादेश फिर्ता लिएर संघीय संसद्को अधिवेशन तत्काल बोलाउन विपक्षी दलको आग्रह

अध्यादेश फिर्ता लिएर संघीय संसद्को अधिवेशन तत्काल बोलाउन विपक्षी दलको आग्रह

काठमाडौँ : विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जारी गर्न सिफारिस गरेका अध्यादेश फिर्ता लिएर तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको बैठकले सरकारलाई त्यस्तो आग्रह गरेको हो ।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाको सहभागिता थियो । बैठकपछि चारै दलका नेताहरूले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्थगन गरिएको संघीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न जोडदार माग गर्दछौँ । अध्यादेशहरू अविलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’

त्यस्तै, बैठकले सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेशहरू तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।  ‘अध्यादेशहरू संसद् छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्वीकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट