Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आन्तरिक विवादबीच ‘लास्ट आवर’ मा सुधनले पाए गृह मन्त्रालय

आन्तरिक विवादबीच ‘लास्ट आवर’ मा सुधनले पाए गृह मन्त्रालय

काठमाडौँ : सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको भन्दै विवाद उत्पन्न भएपछि गृहमन्त्री सुधन गुरूङले बुधबार पदबाट राजीनामा दिएका छन्।

चैत १३ गते गृहमन्त्रीका रूपमा शपथ लिएको एक महिना नबित्दै राजीनामा दिएका गुरूङको नियुक्ति पनि 'लास्ट आवर' मा निकै कचमचबीच भएको थियो। त्यति बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालीन उपसभापति डिपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए। तर प्रधानमन्त्री बालेन शाहको व्यक्तिगत छनौटमा सुधन गुरूङ गृहमन्त्री भएका हुन्।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि संविधानबारे आलोकाँचो टिप्पणी गरेको भन्दै गुरूङमाथि प्रश्न उठेको थियो। त्यसपछि पनि आफ्नो अभिव्यक्तिका कारण पटक पटक विवादमा परेका गुरूङ झन्डै दुई-तिहाइ बहुमतप्राप्त सरकारमा गृहमन्त्री बन्न उपयुक्त हुन् कि होइनन् भन्नेबारे सामाजिक सञ्जालमा बहस चलेको थियो।

पार्टीभित्र सुरूदेखि नै गृहमन्त्रीका रूपमा डोलप्रसाद अर्याल (डिपी) र महामन्त्री सुनिल लम्सालको नाम मात्र चर्चामा थियो। पार्टी सभापति लामिछानेले उपसभापति अर्याललाई नै गृहमन्त्री बनाउन चाहेका थिए। वरिष्ठ नेता बालेन प्रधानमन्त्री बनेपछि टिम बलियो बनाउन र परिणाममुखी काम गर्न केही सिनियर र अनुभवी नेता पनि जानुपर्ने र त्यसका लागि डिपी उपयुक्त हुने उनको भनाइ थियो।

बालेन भने सुरूदेखि नै सुधन गुरूङ वा सुनिल लम्सालकै अडानमा थिए। तर बालेन समूहले सुरूमा गुरूङको नाम अगाडि ल्याइसकेको थिएन। उनीहरूले लम्साललाई नै अगाडि सारेका थिए। लम्सालको नाममा सहमति जुट्न सकेन भने गुरूङको नाममा पनि छलफल भइरहेको थियो।

त्यसै क्रममा शपथ ग्रहणभन्दा एक दिनअघि मात्र पार्टी सभापति रवि लामिछाने लगायत नेताहरूसँग भएको छलफलमा बालेनले गुरूङको नाममा अडान राखेको स्रोत बताउँछ।सभापति लामिछाने सुरूमा सहमत थिएनन्। तर यो सरकारले जेनजी आन्दोलनको मर्म र भावना आत्मसात् गर्नुपर्ने भएकाले गुरूङ नै उपयुक्त पात्र हुने बालेनले तर्क गरेपछि सभापति लामिछानेले काट्न नसकेको रास्वपाका नेताहरू बताउँछन्।

गोरखा–१ बाट निर्वाचित ३८ वर्षीय गुरूङ जेनजी आन्दोलनका अगुवामध्ये एक हुन्। उनले त्यस दिन स्वयंसेवकको भूमिका निर्वाह गरेको बताएका छन्। आन्दोलन निष्कर्षमा पुगेपछि उनी चुनावी सरकार गठनमा सक्रिय भूमिकामा देखिएका थिए। सरकार गठनपछि आन्दोलनको मर्म र भावनाअनुरूप सत्ता सञ्चालन हुनुपर्नेमा जोड दिँदै आएका गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर गोरखाबाट प्रतिनिधिसभामा उठेका थिए।

उनले यसअघि नै गृहमन्त्रीको तयारी गरेका थिए भन्ने चुनावी भाषणहरूबाट पुष्टि हुन्छ। चुनावी प्रचार क्रममा उनले गोरखाका केही सभामा आफू गृहमन्त्री बन्न चाहेको आसय प्रकट गरेका थिए। औपचारिक रूपमा रास्वपा प्रवेश नगरेको र चुनाव चिह्न मात्र लिएको उनको आसय थियो। गुरूङ गृहमन्त्री भएपछि डिपी अर्याललाई सभामुख बनाइएको छ भने सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री बनेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट