Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सालझण्डी–ढोरपाटन सडक निर्माण : दुई दशक पुग्दा पनि आधा काम बाँकी

सालझण्डी–ढोरपाटन सडक निर्माण : दुई दशक पुग्दा पनि आधा काम बाँकी

बुटवल : निर्माणाधीन सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण सुरु भएको करिब दुई दशक पुग्न लाग्दा पनि अझै आधाभन्दा धेरै काम बाँकी नै छ । वि.सं. २०६५ बाट निर्माण थालिएको यस सडकको ट्र्याक खोल्ने काम भने पूरा भएको छ । तर, यसको विस्तार, स्तरोन्नति र कालोपत्रको काम सुस्त गतिमा भइरहेको हो ।

१८ वर्षको अवधिमा उक्त सडकको ४४ प्रतिशत मात्र काम सकिएको छ । सरकारले प्रत्येक वर्ष आवश्यक बजेट विनियोजन गर्न नसक्दा अझै ५६ प्रतिशत काम बाँकी रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण परियोजनाका प्रमुख इन्जिनियर गगलबहादुर भण्डारीले रातोपाटीलाई बताए ।

हुन पनि पछिल्लो पाँच वर्षमा सरकारले विनियोजन गरेको बजेटको अवस्था हेर्दा डीपीआरमा उल्लेख भएअनुसार बजेटको आकार पुर्‍याउन अझै धेरै वर्ष लाग्ने देखिन्छ । निर्माण सुरु गर्दा १० अर्ब रुपैयाँ लागत अनुमान गरिए पनि अहिले बढेर करिब १३ अर्ब पुग्ने अनुमान गरिएको छ । 

लागत बढ्नुको पछाडि सरकारले समयमा आवश्यक बजेट विनियोजन नगर्नु नै मुख्य कारण रहेको प्रमुख भण्डारीको दाबी छ । उनका अनुसार प्रत्येक वर्ष एक अर्बभन्दा धेरै बजेट चाहिनेमा ३० देखि ३५ करोड मात्र विनियोजन हुने गरेको छ । यही आधारमा काम गर्दा आयोजना सम्पन्न हुन अझै लामो समय लाग्ने निश्चित छ ।

‘हामीले बिचमा अन्य स्रोतको खोजी गरेर पनि काम गराएका छौँ, तर जति बजेट चाहिने हो, त्यो उपलब्ध हुने अवस्था छैन,’ उनले भने ।

  • पछिल्लो पाँच वर्षको बजेट अवस्था:

सरकारले वार्षिक रूपमा उपलब्ध गराएको बजेट विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ मा २२ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरिए पनि संशोधित खर्च ३६ करोड ९३ लाख पुगेको छ । 

4आव २०७५/७६ मा २३ करोड ६ लाख विनियोजन भएकोमा उक्त वर्ष जम्मा २२ करोड १२ लाख खर्च भएको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २५ करोड ३८ लाख बजेट हुँदा १६ करोड २९ लाख मात्र खर्च भएको सडक परियोजना कार्यालयले जनाएको छ ।

कार्यालयकी सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ करोड ९९ लाख बजेट विनियोजन हुँदा संशोधित खर्च २२ करोड ३९ लाख भएको छ । आव २०७८/७९ मा ३५ करोड ९४ लाख बजेट हुँदा संशोधित खर्च ४० करोड ६६ लाख पुगेको देखिन्छ । 

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा ४० करोड ९६ लाख बजेट विनियोजन हुँदा ५३ करोड ८८ लाख खर्च भएको छ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १९ करोड मात्र बजेट विनियोजन भएकोमा संशोधित खर्चमार्फत ५० करोड ८८ लाख खर्च भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ४६ करोड २९ लाख बजेट विनियोजन भएकोमा संशोधित खर्च ९६ करोड ७५ लाख पुगेको छ भने चालू आर्थिक वर्ष (२०८२/८३) मा ४० करोड ४९ लाख बजेट विनियोजन भएकोमा ४६ करोड खर्च हुने अनुमान गरिएको इन्जिनियर पौडेलले बताइन् । उनले सडकका लागि आवश्यक पर्ने बजेट माग्न प्रत्येक वर्ष विभिन्न निकायमा धाइरहनुपरेको खुलाइन् ।

  • के-के काम भयो, के हुँदै छ ?

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको कुल लम्बाइ १९७ किलोमिटर हो । यसको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ । जसमा हालसम्म ३६ किलोमिटर मात्र कालोपत्र गरिएको छ । रुपन्देहीमा ५ किमी, पाल्पामा ४ किमी र अर्घाखाँचीमा करिब २७ किमी सडक कालोपत्र गरिएको सडक परियोजना कार्यालयले जनाएको छ । यस्तै, हालसम्म ७ वटा पुल निर्माण सम्पन्न भएका छन् ।

अझै दुईवटा पुल निर्माणको काम बाँकी छ । अर्घाखाँचीको दोभान (दोवल) खोला पुल र बागलुङको बौलाभाषे पुल निर्माण हुन बाँकी रहेको हो । यस्तै, चालू आर्थिक वर्षमा थप २० किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेको सूचना अधिकारी इन्जिनियर पौडेलले बताइन् ।

उनका अनुसार पुलको डीपीआर बन्दै गरेकाले त्यसको ठेक्का लगाइएको छैन । अन्य सडकमा भने साना–ठूला गरी ७ वटा ठेक्का लगाएर काम भइरहेको छ ।

पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पटौतीसम्म २२ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सन्धिखर्कको माटेदेखि भडारसम्म ७ किलोमिटर कालोपत्र गर्न लागिएको छ । गुल्मीको पुर्कोटदहदेखि अर्खाबाङसम्म १९ किलोमिटर, गुल्मीकै सिर्सेनीदेखि गङ्गरेसम्म ७ किलोमिटर र पुर्कोटदहदेखि सिर्सेनीसम्मको २६ किलोमिटर सडकमा बहुवर्षीय ठेक्का प्रणालीअनुसार काम अगाडि बढेको उनले खुलाइन् ।

बहुवर्षीय आयोजना भएकाले बजेट अभाव हुँदा अर्को वर्ष भुक्तानी गर्ने गरी काम गराउन मिल्ने तर, बजेट हुँदाहुँदै पनि काम गर्न अटेर गर्ने निर्माण व्यवसायीको ठेक्का तोड्ने कामसमेत भएको उनले जानकारी दिइन् ।

हालै चैत महिनाको अन्तिम साता उक्त परियोजनाअन्तर्गतको एउटा ठेक्का तोडिएको उनले बताइन् । रुपन्देहीको सालझण्डीदेखि पाल्पाको खुर्सानेसम्म १३ किलोमिटर सडकका लागि आर्थिक वर्ष २०७७/७८ मा लगाइएको ठेक्का हालै तोडिएको हो । निर्माण कम्पनी 'मणि ओम सुगम जेभी'सँग २४ करोडमा सम्झौता भए पनि काम गर्न अटेर गरेपछि ठेक्का तोडिएको हो । उक्त खण्डमा जम्मा ९ करोड रुपैयाँ बराबरको मात्र काम भएको छ ।

  • लुम्बिनी र ढोरपाटन जोड्ने पर्यटकमार्ग

लुम्बिनीदेखि ढोरपाटन पुग्ने यो सडक निर्माण सम्पन्न भएमा लुम्बिनी आएका पर्यटकलाई ढोरपाटन पुर्‍याउन र उताबाट लुम्बिनी ल्याउन सहज हुनेछ ।

खासगरी ढोरपाटन सिकार आरक्षमा सिकार गर्न आउने विदेशी पर्यटकलाई यसले धेरै सहज हुने अपेक्षा गरिएको छ । यो सडकले लुम्बिनी प्रदेशका चार र गण्डकी प्रदेशको एक जिल्लालाई तराईसँग जोड्नेछ । रुपन्देही खण्डमा कालोपत्रको काम सकिएको छ भने अन्य जिल्लामा काम हुँदै छ ।

सडक निर्माण सम्पन्न भएर पूर्ण रूपमा यातायात सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटनमा ठूलो परिवर्तन आउने अपेक्षासहित सङ्घीय सरकारले काम थाले पनि निर्माण कार्यमा अत्यधिक ढिलाइ भएको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

भैरहवा, बुटवल तथा लुम्बिनी आएका पर्यटकहरू पहाडी जिल्ला हुँदै ढोरपाटन जान सक्ने र त्यहाँबाट यता आउन सक्ने हुँदा पर्यटन क्षेत्र थप चलायमान हुने उनको भनाइ छ । रुपन्देही, सालझण्डीका होटेल व्यवसायी मणि घिमिरेले पनि सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्र हुँदै आउजाउ गर्ने पर्यटकको सङ्ख्या बढ्ने र व्यापार–व्यवसायमा थप वृद्धि हुने अपेक्षा गरिएको बताए । यसबाट पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङको समग्र आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट