Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दाङ–सल्यान जन्ती जिप दुर्घटना : चार जनाको मृत्यु, १४ घाइते

दाङ–सल्यान जन्ती जिप दुर्घटना : चार जनाको मृत्यु, १४ घाइते

दाङ :सल्यान सडक खण्डमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनाको बाँकेको नेपालगन्जमा उपचार भइरहेको छ भने चार जना उपचारपछि डिस्चार्ज भएका छन्। दुर्घटनामा बनगाड कुपिन्डे नगरपालिका–८ थाराका ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतस्थित मेहलकुना अस्पतालमा शनिबार राति पौने ११ बजेतिर मृत्यु भएको हो। अन्य तीन जनालाई सल्यान जिल्ला अस्पताल खलंगा पुर्‍याउँदा चिकित्सकले राति करिब १० बजेतिर मृत घोषणा गरेका थिए।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको बाँकेको नेपालगञ्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। साथै अन्य आठ जनाको नेपालगञ्जकै सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ भने चार जना उपचारपछि घर फर्किसकेका छन्।

शनिबार बेलुकी करिब साढे ५ बजेतिर बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ०२७१ नम्बरको जिप बनगाड कुपिन्डे नगरपालिका–१२ पुथलामा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। जिप सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

भौगोलिक रूपमा विकट क्षेत्र भएकाले घाइतेहरूको उद्धार गर्न करिब चार घण्टा लागेको थियो। स्थानीय वडाअध्यक्ष कुलबहादुर पुरीका अनुसार स्थानीय मनबिर थापालाई दुलही पक्षले ‘ढोक भेट’का लागि बोलाएपछि माइती पक्षका आफन्त र गाउँलेहरू जन्तीका रूपमा जाँदै थिए। उनीहरूले तीन वटा गाडी प्रयोग गरेका थिए। दुलाहा–दुलही सवार गाडी अगाडि रहेको र पछाडि १८ जना जन्ती बोकेको जिप दुर्घटनामा परेको उनले जानकारी दिए।

उक्त क्षेत्रमा माइती वा माउली मान्न जाँदा खसी, बोका, राँगा लगायत उपहार लैजाने परम्परा अझै प्रचलनमा रहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट