मकवानपुर : बागमती प्रदेशसभा बैठकले दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको हो ।
प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईँले बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले टेबुल गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले टेबुल गरेको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेकी थिइन् । उक्त प्रस्तावलाई प्रदेशसभाका उपस्थित सांसदहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए ।
यससँगै उक्त विधेयकहरू माथि सांसदहरूले संशोधन प्रस्ताव राख्ने छन् । प्रदेशसभा सचिवालयले उक्त विधेयकहरू माथि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको सूचना जारी गरेपछि सांसदहरूले संशोधन प्रस्ताव राख्नेछन् ।
त्यसअघि उक्त बैठकमा सो विधेयक माथि सामान्य छलफल भएको थियो । प्रदेशसभाका सदस्यहरूले सो विधेयकको सैद्धान्तिक पक्षमा छलफल गरेका थिए । आर्थिक कार्यविधि सम्बन्धी विधेयकका नेकपा सांसद रत्नप्रसाद ढकालले मात्र छलफलमा भाग लिएका थिए भने खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयकमा नेकपा सांसद ढकाल, कांग्रेस सांसद रामकृष्ण चित्रकार, पुकार महर्जनले छलफलमा भाग लिएका थिए । उक्त विधेयकहरुमा उठेका प्रश्नहरूको मन्त्रीद्वय प्रभात तामाङ र कृष्णकुमार तामाङले जवाफ दिएका थिए ।
बैठकमा प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गरेका थिए । उक्त बैठकको विशेष समयमा सांसदहरूले समसामयिक विषयमा धारणा राखेका थिए । प्रदेशसभाको बैठक आगामी वैशाख ६ गते बस्ने गरी स्थगित गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij