नयाँदिल्ली : भारतमा हवाई इन्धन अर्थात् एटीएफ झन्डै ११५ प्रतिशतले बढेको छ।
एकैपटक दोब्बरभन्दा बढीले मूल्य वृद्धि भएपछि हवाई यात्रादेखि उद्योगसम्म व्यापक असर पर्ने संकेत देखिएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार एटीएफको मूल्य ११५ प्रतिशतले बढ्दै प्रतिकिलोलिटर २.०७ लाख रुपैयाँ पुगेको छ। यसअघि रहेको मूल्यमा प्रतिकिलोलिटर १.१० लाख रुपैयाँको वृद्धि भएको हो। जुन ११४.५ प्रतिशतको उच्छल हो। यो वृद्धि पछिल्लो समयकै सबैभन्दा ठूलो मानिएको छ।
सरकारले हवाई इन्धनको मूल्यवृद्धिको प्रत्यक्ष असर यात्रुमा नपरोस् भनेर आंशिक राहत दिने प्रयास गरेको छ। मन्त्रालयले विज्ञप्तिमार्फत घरेलु उडानका लागि एयरलाइन्सहरूमा २५ प्रतिशत (प्रतिलिटर करिब १५ रुपैयाँ) मात्र चरणबद्ध रूपमा मूल्यवृद्धि लागू गरिएको स्पष्ट पारेको छ। तर अन्तर्राष्ट्रिय उडानतर्फ भने यस्तो सहुलियत नदिइएको जनाइएको छ। विदेश जाने तथा आउने उडान सञ्चालन गर्ने एयरलाइन्सहरूले विश्व बजारअनुसारको पूर्ण मूल्य तिर्नुपर्नेछ। जसले अन्तर्राष्ट्रिय टिकट महँगिने सम्भावना छ।
विशेषगरी मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको असर ऊर्जा बजारमा देखिँदै जाँदा भारतमा इन्धनको मूल्य आकासिएको हो। यही प्रभावका कारण व्यावसायिक खाना पकाउने ग्यास (एलपीजी) को मूल्य पनि १९५.५० रुपैयाँले बढाइएको छ। हवाई इन्धनसँगै ग्यासको मूल्यसमेत बढेपछि पर्यटन, उड्डयन र आतिथ्य क्षेत्र प्रत्यक्ष प्रभावित हुने देखिएको छ। अब आगामी दिनमा हवाई भाडा र सेवा शुल्कसमेत बढ्न सक्ने अनुमान गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij