Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा ४ वर्षपछि पुनः बर्डफ्लु, भरतपुर -४ नवदुर्गाचोकको एक कुखुरा फर्मका ५ सय कुखुरा मरे २० हजार संक्रमित !

चितवनमा ४ वर्षपछि पुनः बर्डफ्लु, भरतपुर -४ नवदुर्गाचोकको एक कुखुरा फर्मका ५ सय कुखुरा मरे २० हजार संक्रमित !

 भरतपुर : चितवनमा चार वर्षपछि पुनः बर्डफ्लु देखा परेको छ, जसले कुखुरापालक किसानहरूलाई फेरि एकपटक चिन्तित बनाएको छ।

भरतपुर महानगरपालिका–४, नवदुर्गाचोकस्थित एक किसानको कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएपछि नियन्त्रणका लागि आपतकालीन कदमहरू अघि बढाइएको छ। उक्त फार्ममा रहेका करिब २० हजार लेयर्स कुखुरामध्ये १,५०० कुखुरा मरेका छन् भने बाँकी जोखिममा रहेका कुखुराहरूलाई नष्ट गर्ने प्रक्रिया सुरु भइसकेको छ।

परीक्षणपछि बर्डफ्लु पुष्टि भएसँगै सम्बन्धित निकायले फार्ममा रहेका कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य सामग्री पूर्ण रूपमा नष्ट गर्ने निर्णय गरेका हुन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले प्रभावित क्षेत्र वरिपरि ७ किलोमिटरलाई उच्च निगरानी क्षेत्रमा राख्ने, कुखुरा तथा पन्छीजन्य वस्तुको उत्पादन र ओसारपसारमा रोक लगाउने निर्णय गरेको छ। साथै, शङ्कास्पद पन्छीको आयात–निर्यातमा प्रतिबन्ध लगाउँदै क्षतिपूर्तिका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

कुखुरा मर्न थालेपछि किसानले नमूना परीक्षणका लागि प्रयोगशालामा पठाएका थिए। प्रारम्भिक परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणमार्फत बर्डफ्लु पुष्टि भएको हो। विशेषज्ञहरूले कुखुरा फार्ममा जैविक सुरक्षाका उपाय कडाइका साथ अपनाउन आग्रह गरेका छन्। श्वासप्रश्वासमा समस्या देखिनु, अचानक धेरै कुखुरा मर्नु वा कुनै स्पष्ट लक्षण बिना नै मृत्यु हुनुलाई बर्डफ्लुको संकेत मान्न सकिने बताइएको छ। यसअघि आर्थिक वर्ष २०७८/७९ मा चितवनका विभिन्न स्थानमा बर्डफ्लु फैलिँदा करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।

त्यसबेला सरकारले किसानहरूलाई ३३ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको थियो। हालको नियमावली अनुसार किसानहरूले कुल क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ। बर्डफ्लु प्रायः पन्छीमा सीमित भए पनि कहिलेकाहीँ मानिसमा पनि सर्न सक्ने भएकाले थप सतर्कता आवश्यक रहेको विज्ञहरू बताउँछन्। चार वर्षपछि फेरि देखिएको यो संक्रमणले चितवनका किसानहरूमा त्रास थपेको छ भने नियन्त्रण प्रयासलाई अझ कडा बनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट