Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दुर्घटनामा अस्ताइन् मीना रेग्मी : बाबुसमेत गुमाएका छोराको लालनपालन र पढाइमा समस्या

दुर्घटनामा अस्ताइन् मीना रेग्मी : बाबुसमेत गुमाएका छोराको लालनपालन र पढाइमा समस्या

भरतपुर : रत्ननगर नगरपालिका–९, निपनीमा गत सोमबार दिउँसो भएको दुर्घटनाको सिसिटिभी फुटेज हेर्दा पनि मुटु नै काँप्ने थियो, हेर्नै नसकिने । दुर्घटना स्कुटीको हो, जसलाई तेल बोकेको ट्याङ्करले पछाडिबाट ठक्कर दियो ।

स्कुटीका चालकले निपनी चोकको राजमार्ग क्रस गरिसकेका थिए । बाटो क्रस गरिसकेको स्कुटीलाई हाइवे सडक छोडेर भित्री सडकको निकै पर गएर तेल बोकेको ट्याङ्करले ठक्कर दिएको सिसिटिभी फुजेजमा देखिन्छ, जुन फुटेज हेर्न पनि दह्रो मुटु चाहिने ।

स्कुटीको पछाडि बसेकी थिइन्, ३३ वर्षीया मीना रेग्मी । स्कुटीका चालक थिए ५३ वर्षका पूर्ण सापकोटा । सडक काटेर पर पुगिसकेको स्कुटीलाई ट्याङ्करले ठक्कर मात्र दिएन, स्कुटरमा बसेकी मीनालाई चक्काले लता¥यो । अर्को साइडतर्फ लडेका स्कुटर चालक सापकोटालाई केही भएन ।

डिजेल बोकेको ट्याङ्कर ठक्कर दिँदै अघि बढ्यो, रोकेर राखेको साइकलसहित चार सवारीसाधनलाई ठक्कर दिएको फुटेजमा देखिन्छ ।

मीनाको घर भरतपुर महानगरपालिका–७ स्थित सुन्दर टोल विकास संस्थानजिक छ । उनी बिमा कम्पनीको एजेन्टको रुपमा काम गर्दै आएकी थिइन् । सुन्दर टोल विकास संस्थाका अध्यक्ष सन्दीप सुवेदीका अनुसार डेढ वर्षदेखि मीनाको परिवार सुन्दर टोल विकास संस्थामा बस्दै आएको थियो । भरतपुर–७, विशालचोकबाट अढाई सय मिटरभित्र पर्छ यो टोल ।

मीनाका भाइ जनकराज अधिकारीका अनुसार बिमा कम्पनीकै कामको सिलसिलामा रत्ननगरबाट घर फर्किंदै गर्दा ट्याङ्करले ठक्कर दिएको हो । ‘दिदी कामको सिलसिलामा घर फर्किंदै हुनुहुन्थ्यो, बाटो क्रस गरेर गइसकेको स्कुटीलाई ट्याङ्करले ठक्कर दिएपछि घटनास्थलमै दिदीको मृत्यु भयो’, मीनाका भाइ जनकराजले भने, ‘भिनाजु (मीनाका श्रीमान्)को २०७२ सालमा मृत्यु भइसकेको हो, भान्जा (मीनाका छोरा) अब एक्लो भए ।’

परिवारमा ठूलो ब्रजपात परेको जनक बताउँछन् । उनी भन्छन्, ‘दिदीको सानोतिनो कमाइले छोरा पढिरहेको थियो, अब लालनपालन र पढाइमा आर्थिक समस्या परेको छ ।’ उनका अनुसार छोरा समीर रेग्मी भरतपुरमै बिएचएम पढिरहेका छन् । मीनाका श्रीमान् उमेश रेग्मीको २०७२ सालमा किड्नीको समस्याका कारण निधन भइसकेको जनकले बताए ।

‘भान्जा टुहुरो भएका छन्, उनको लेखपढ राम्रो छ । दिदीको मृत्यु भएसँगै उनको भविष्य नै अन्धकारजस्तो भयो, केही सोच्नै सकिएको छैन’, जनकले भने । उनका अनुसार मङ्गलबार रत्ननगर प्रहरी र पीडित पक्षबीच लामो छलफल भएको थियो ।

‘ट्याङ्कर समितिका मान्छेसँग छलफल हुन सकेको छैन, बुधबार बिहानसम्म समितिका मान्छेसँग छलफल हुने कुरा छ’, जनकले भने, ‘प्रहरी प्रशासनबाट राम्रै सहयोग भइरहेको छ, तर पनि ट्याङ्कर समितिसँग कुराकानी हुन किन ढिला भइरहेको हो भनेर हामीले प्रश्न गरेका छौँ ।’

मीनाको शव परिवारले बुझिसकेका छैनन् । ‘घटना भइसक्यो, अब दिदी फर्केर आउनुहुन्न, भान्जा एक्लो भएका छन् । घरमा कमाउने मान्छे कोही छैन, उनको लेखपढ गर्न अझै धेरै बाँकी छ, यसको सुनुवाइ कोबाट कसरी हुने हो ?’ जनकले प्रश्न गरे ।

उनका अनुसार प्रहरीबाट अनुरोध आएका कारण पीडित परिवार आक्रोशित भएको छैन । घटना हेर्दा पनि जोकोही आक्रोशित हुने अवस्था देखिन्छ । ‘बुधबार बिहान ट्याङ्कर समिति, प्रहरी प्रशासन र पीडित पक्षबीच छलफल हुने कुरामा विश्वस्त भएका छौँ’, उनले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको ट्याङ्करले भित्री सडकबाट निस्किँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । सोही ठक्करबाट मीनाको निधन भएको र उनको शव परिवारले बुझिनसकेको प्रहरीको भनाइ छ ।

ट्याङ्करले सडकछेउमा रोकिराखेको ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएर क्षति पु¥याएको प्रहरीको भनाइ छ । ट्याङ्करले एउटा साइकललाई समेत ठक्कर दिएको थियो । ट्याङ्करसहित चालक राप्ती नगरपालिका–७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट