Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बुढानिलकण्ठ निवासमा आक्रमण र लुटपाटबारे देउवाको बयान : भेटिएको रकम धेरै थिएन

बुढानिलकण्ठ निवासमा आक्रमण र लुटपाटबारे देउवाको बयान : भेटिएको रकम धेरै थिएन

काठमाडौँ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २०८२ भदौ २४ गते आफ्नो निजी निवासमा भएको तोडफोड, आगजनी र लुटपाटलाई एउटा ठुलो षड्यन्त्रको संज्ञा दिएका छन्।

जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले उक्त घटनामा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुनुपर्ने माग गरेका हुन्।  जनआस्था साप्ताहिकको सौजन्यमा प्राप्त प्रतिवेदनमा देउवाले आफ्नो निवासमा भएको घटना र सामाजिक सञ्जालमा फैलिएका विवरणहरूबारे स्पष्टीकरण दिँदै ती सबै भ्रामक र एआई जेनेरेटेड हुन सक्ने दाबी गरे।

आयोगसमक्ष बयान दिने क्रममा देउवाले भदौ २३ गते आफू बुढानिलकण्ठस्थित निजी निवासमै रहेको र सोही साँझ बालुवाटार पुगेर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन तत्कालीन प्रधानमन्त्रीलाई आग्रह गरेको खुलाए। भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू आफ्नो निवासमा भेला भई नाराबाजी गरेको र सुरक्षाकर्मीले रोक्दा-रोक्दै आफूहरूमाथि हातपात भएको उनले बताए। केही जेनजी युवाहरूले बचाएपछि मात्र राति १० बजेतिर सुरक्षित स्थानमा पुग्न सफल भएको उनले बयानमा उल्लेख गरेका छन्।

आफ्नो निवासमा फेला परेको भनिएको रकमबारे स्पष्ट पार्दै देउवाले मुचुल्कामा उल्लेख भए अनुसार त्यो ठूलो परिमाणको नभएको दाबी गरे। सामाजिक सञ्जालमा आएका आफ्नो घरसँग सम्बन्धित कतिपय विवरणहरू षड्यन्त्रपूर्वक बनाइएको र ती आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी तयार पारिएको उनको तर्क छ। यद्यपि, यसबारे कुनै पनि प्रहरी कार्यालयमा उजुरी भने नगरेको उनले स्वीकार गरे। आफ्नो निवासमा भएको लुटपाट र आगजनीको विवरण प्रहरीले लगे पनि हालसम्म कारबाही प्रक्रिया कहाँ पुग्यो भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए।

प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप भएको भन्ने आरोपलाई खण्डन गर्दै देउवाले आफूले कहिल्यै पक्षपातपूर्ण काम नगरेको जिकिर गरे। भदौ २३ र २४ गतेको घटनामा प्रहरीले सही आँकलन गर्न नसकेको विषयलाई राजनीतिक हस्तक्षेपसँग जोड्न नहुने उनको भनाइ छ। लोकतन्त्रमा ट्रेड युनियन र विद्यार्थी संगठनहरूले आफ्नो हकहितका लागि काम गर्न पाउनुपर्ने भए पनि गैर-राजनीतिक संस्थाहरूमा राजनीतीकरण गर्न नहुने उनले सुझाए। उनले देशका युवाहरूको भावना समेटेर नीतिगत र कानुनी सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट