Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

झापा र मोरङमा ‘बर्डफ्लु’‚ पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा र मोरङमा ‘बर्डफ्लु’‚ पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा : झापा र मोरङमा बर्डफ्लुको संक्रमण देखिएको छ।

झापाको दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्डफ्लु’ देखापरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।

प्रशासनले आज (मंगलबार) सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानेर चारै दिशामा संकटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अन्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ।

भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका १० मा रहेको एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्डफ्लु पुष्टि भएको छ। सङ्क्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुरा सोमबारै नष्ट गरिसकिएको उनले बताए।

दमक, झापा गाउँपालिका मात्र नभई जिल्लाका मेचीनगर र अर्जुनधारा नगरपालिकालगायत क्षेत्रबाट पनि कुखुरा मरिरहेको सूचना प्राप्त भएकाले जोखिम बढेको अनुमान गरिएको छ। प्रमुख भट्टराईले किसानले ल्याएका नमुनाका प्रारम्भिक ‘-यापिड टेस्ट’ गर्दा ‘रिपोर्ट पोजेटिभ’ देखिएको र थप प्राविधिक पुष्टिका लागि केन्द्रीय प्रयोगशालामा पठाएर पीसीआर परीक्षण प्रक्रिया अघि बढाइएको जानकारी दिए।

झापासँगै छिमेकी जिल्ला मोरङ र सुनसरीमा समेत यो रोग फैलिएकाले झापा बर्डफ्लुको उच्च जोखिममा रहेको उनले बताए।

६ हजार कुखुरा नष्ट

विराटनगरमा बर्डफ्लु देखिएका ६ हजार कुखुरा नष्ट गरिएको छ। विराटनगर महानगर पशुपक्षी विकास शाखा प्रमुख हीरालाल यादवका अनुसार दुईवटा भौतिक संरचनामा सञ्चालनमा रहेका कुखुरा सबै नष्ट गरिएको हो।

विगत ६ वर्षदेखि सञ्चालनमा रहेको फार्ममा बर्डफ्लुका कारण एक करोड रुपैयाँभन्दा माथिको क्षति भएको सञ्चालक बोधराज दाहालले बताए। फार्ममा रहेका अन्डा, कुखुराको दानालगायत सबै सामग्री नष्ट गरिएको छ। सञ्चालक दाहालले करोडौंको क्षति हुँदा सडकमा आउनु परेको गुनासो गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट