Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ट्रम्पले दिएको समयसीमा सकिनै लाग्दा के गर्दैछ तेहरान ?

ट्रम्पले दिएको समयसीमा सकिनै लाग्दा के गर्दैछ तेहरान ?

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुजको जलमार्ग पुनः खोल्न वा ठूलो अमेरिकी आक्रमणको सामना गर्न दिएको चेतावनीप्रति इरानले पनि कडा प्रतिक्रिया जनाएको छ। ट्रम्पले ४८ घण्टाभित्र आफूले भनेजस्तो नगरे इरानी ऊर्जा प्लान्टहरू ‘मेटाइदिने’ भनेर धम्की दिएपछि तेहरानले यदि ट्रम्पले धम्क्याएजसरी वाशिङ्टन अघि बढेमा उक्त समुद्री जलमार्ग पूर्ण रूपमा बन्द गरिदिने चेतावनी दिएको छ।

ट्रम्पले दिएको उक्त अल्टिमेटम तेहरानको समय अनुसार २४ मार्चको बिहान ३ बजे सकिँदै छ। एक्समा लेख्दै इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरान विरुद्धको अमेरिकी धम्कीले ‘हतास’ भएको देखाउने बताएका थिए।

उनले भनेका थिए–‘धम्की र आतङ्कले हाम्रो एकतालाई बलियो बनाउँछ। हाम्रो भूमि उल्लङ्घन गर्नेहरूबाहेक होर्मुजको जलमार्ग सबैका लागि खुला छ। हामी युद्धभूमिमा बेसुरका खतराहरूको दृढतापूर्वक सामना गर्छौं।’

यसैबीच आइतवार अबेर भएको टेलिफोन वार्तामा ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मर र अमेरिकी राष्ट्रपति ट्रम्पले होर्मुजको जलमार्ग पुनः खोल्दै ‘विश्वव्यापी ढुवानी पुनः सुरु गर्न आवश्यक’ रहेकामा सहमति जनाएका छन्।

ट्रम्पले होर्मुज जलमार्ग नखुलाइए इरानका ऊर्जा केन्द्रहरू ‘सबैभन्दा ठूलोबाट सुरु गर्दै’ ध्वस्त पार्ने भनेका थिए। जबाफमा इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी)ले अमेरिकी आक्रमण भएमा ‘हाम्रा ध्वस्त पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म’ स्ट्रेट पुनः नखोलिने जनाएको छ।

यसैबीच इजरायल डिफेन्स फोर्सेस (आईडिएफ)ले इरान र हिज्बुल्लाहविरुद्ध ‘अझ कैयौँ हप्ता लडाईं’ को सामना गर्नुपर्ने ठानिएको बताएको छ। विश्वव्यापी तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ढुवानी हुने उक्त जलमार्गमा यतिखेर ​​सीमित पानीजहाजलाई मात्र अनुमति दिइएको छ।

सामान्यतः हरेक महिना करिब ३,००० पानीजहाजहरू होर्मुजको जलमार्ग हुँदै यात्रा गर्छन्। तर इरानले ट्याङ्कर र अन्य पानीजहाजहरूमा आक्रमण गर्ने धम्की दिइरहँदा पछिल्ला सातामा उक्त सङ्ख्या नाटकीय रूपमा घटेको छ।

एएफपी समाचार संस्थाको १८ मार्चको तथ्याङ्क अनुसार युद्ध सुरु भएदेखि कम्तिमा २१ वटा जहाजहरूमा प्रहार वा निशानामा पारिएका वा आक्रमण गरिएका विवरण छ।

युद्ध सुरु भएयता विश्वव्यापी रूपमा इन्धनको मूल्य ह्वात्तै बढेको छ। कच्चा तेल प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ जुन यसै वर्ष भएको करिब ७० प्रतिशतको वृद्धि हो भने एक वर्ष अघिको तुलनामा लगभग ५० प्रतिशतको वृद्धि हो।

सोमबार एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’ प्रति ब्यारल १११.२५ अमेरिकी डलरमा पुगेको छ भने अमेरिकामा कारोबार हुने तेल प्रतिब्यारल ९८.१८ मा छ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयले विश्वभरका अमेरिकीहरूलाई थप सजग रहन सूचना जारी गरेको छ। सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्रालयले ‘विश्वभर र विशेषगरी मध्यपूर्वमा रहेका अमेरिकीहरूलाई थप सावधानी अपनाउन’ आह्वान गरिएको जनाएको छ। - बीबीसी

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट