Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रदीप पौडेलको प्रश्न – कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?

प्रदीप पौडेलको प्रश्न – कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगले प्रतिवेदन बुझाइसकेको लामो समय भइसक्दा पनि सरकारले त्यसलाई सार्वजनिक नगर्नु दुःखद र शंकास्पद भएको बताएका छन्।

उनका अनुसार आयोगले तयार पारेको प्रतिवेदन सरकारसमक्ष बुझाइसकिए पनि हालसम्म सार्वजनिक नगरिनुले विभिन्न आशंका र उपशंका जन्माएको छ। “प्रतिवेदन सार्वजनिक गर्न कुन कारणले रोकिएको हो ? किन अझै सार्वजनिक गरिँदैन ?” भन्ने प्रश्न उठाउँदै उनले यसले गम्भीर प्रश्न खडा गरेको बताएका छन्।

पौडेलले अन्तरिम सरकार आफ्नो कार्यकालको अन्त्यतिर पुगिसकेको अवस्थामा पनि प्रतिवेदन सार्वजनिक नगर्नु कर्तव्यबाट विमुख हुनु भएको टिप्पणी गरे। उनले आयोगका प्रतिवेदनहरू विगतमा पनि गुपचुप राखिने परिपाटीप्रति असन्तुष्टि जनाउँदै यसपटक त्यस्तो नदोहोऱ्याउन आग्रह गरेका छन्।

यसैबीच, नेपाली कांग्रेस को हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले पनि उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक रूपमा माग गर्ने निर्णय गरेको उनले स्मरण गराएका छन्। पौडेलले सरकारलाई “जाने बेलासम्म भए पनि आफ्नो जिम्मेवारी पूरा गर्दै प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न” पुनः आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट