Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन राष्ट्रिय निकुञ्जमा स्पाइ क्यामेराले खुलायो शंकास्पद हतियारधारीको गतिविधि

चितवन राष्ट्रिय निकुञ्जमा स्पाइ क्यामेराले खुलायो शंकास्पद हतियारधारीको गतिविधि

चितवन : गत वैशाखमा चितवन राष्ट्रिय निकुञ्जभित्र दुई जना व्यक्ति सेनाको जस्तो पोसाकमा हातमा बन्दुक बोकेर गस्ती टोलीजस्तै हिँडिरहेको देखिए। उनीहरूलाई निकुञ्जभित्र जडान गरिएको ‘स्पाइ क्यामेरा’ ले तुरुन्तै पहिचान गरी सेन्सरमार्फत निकुञ्जको प्रणालीमा सूचना पठायो।

उनीहरू गस्ती टोलीजस्तो देखिए पनि त्यहाँ निकुञ्ज वा सुरक्षाकर्मीको टोली भने थिएन। नेपाली सेनाको जस्तो पोसाकमा देखिएका उनीहरूको गतिविधि शङ्कास्पद लागेपछि निकुञ्जको गस्ती टोलीले तुरुन्तै कदम चाल्यो, तर तत्कालै नियन्त्रणमा लिन भने सकेन। उनीहरूले झोला फालेर भागे।

स्पाइ क्यामेराबाट प्राप्त तस्बिर र स्थानीय सुराकका आधारमा निकुञ्जको टोलीले दुई जनामध्ये अक्कलबहादुर विश्वकर्मालाई पहिले नियन्त्रणमा लिन सफल भयो। पर्सागढी नगरपालिका निवासी अक्कलबहादुरलाई जेठ महिनामा नियन्त्रणमा लिएपछि उनकै माध्यमबाट मुख्य नाइके हेटौँडा उपमहानगरपालिका–३ का रामशरण विश्वकर्मालाई गत मङ्सिरमा निकुञ्जले पक्राउ गरेको हो।

उनीहरूको साथबाट हाते बन्दुक, बन्चरो तथा बन्दुकमा प्रयोग हुने स्टिलको बेरिङलगायत सामग्री बरामद गरिएको निकुञ्जले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार निकुञ्जको सबै क्षेत्रमा नियमित गस्तीले मात्र सुरक्षा दिन सम्भव नहुने भएकाले ठाउँ–ठाउँमा जडान गरिएका क्यामेराले अहिले गैँडा चोरी–सिकारी नियन्त्रणमा ठूलो सहयोग पुर्‍याइरहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १७ गैँडा र ४ बाघसहित विभिन्न ५७ जनावरको मृत्यु भएको छ। तर चोरी–सिकारीबाट भने ८५२ दिनयता कुनै पनि वन्यजन्तुको मृत्यु नभएको तथ्याङ्क निकुञ्जसँग छ।

प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार, “समुदायको सचेतनासँगै प्रविधिको प्रयोगले निकुञ्जको गस्ती सहज भएको छ, जसले चोरी–सिकारी नियन्त्रणमा सहयोग पुगेको छ।”

वैशाखमा पक्राउ परेका रामशरण विश्वकर्मा यसअघि गैँडा मार्ने उद्योग र अवैध हातहतियार मुद्दामा सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उनलाई एक पटक ५ वर्ष र अर्को पटक १५ वर्षको सजाय तोकिएको थियो। सर्वोच्च अदालतको आदेशपछि कैद कटौती भई उनी १० वर्ष मात्र भुक्तान गरेर निस्किएका थिए। हाल उनीहरू दुवै अवैध हातहतियार मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

चालु आर्थिक वर्षमा गैँडाको अवैध तस्करीको प्रयासमा संलग्न भएको अभियोगमा उनीहरू दुई जनाविरुद्ध मात्र मुद्दा दायर भएको छ भने अन्य विभिन्न मुद्दामा गरी १५ जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको छ।

प्रमुख संरक्षण अधिकृत डा. पन्तका अनुसार अहिले निकुञ्जका विभिन्न स्थानमा २५ वटा स्पाइ क्यामेरा जडान गरिएको छ। ती क्यामेराले कोही व्यक्ति वरपर देखिएमा ‘रियल टाइम इन्फर्मेसन सिस्टम’ मार्फत सूचना पठाउँछन्, जसले गर्दा तत्कालै कदम चाल्न निकुञ्जलाई सहयोग पुग्छ।

त्यसैगरी वन्यजन्तुको अनुगमनका लागि ड्रोन क्यामेरा, ४ वटा तालिमप्राप्त कुकुर, सीसीटीभी क्यामेरा तथा निकुञ्जभित्र पर्यटक घुमाउने गाडीमा जीपीएस जडान गरी उनीहरूको गतिविधि निगरानी गरिँदै आएको छ।

गत वर्ष मध्यवर्ती क्षेत्रको एक व्यक्तिको खेतमा करेन्ट लागेर गैँडाको मृत्यु भएको घटनामा निकुञ्जको तालिमप्राप्त कुकुरको माध्यमबाट सम्बन्धित घर पत्ता लगाइएको थियो। सो व्यक्तिलाई जिल्ला अदालत चितवनले पाँच वर्ष कैद सजाय तोकेको थियो।

प्रविधिको प्रयोग बढेसँगै निकुञ्जमा चोरी–सिकारी नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको निकुञ्ज प्रशासनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट