काठमाडौँ : कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई प्रधान कार्यालय झिकाइएको छ । चैत्र ४ गते भएको घटनाको छानबिन र युनिट सुरक्षामा लापरबाही गरेको भन्दै पौडेलसहितका कर्मचारीलाई प्रधान कार्यालय झिकाइएको हो ।
चैत ४ गते भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर तस्कर समूहसँग विवाद भएको थियो । तस्कर समूह सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दा समेत बल प्रयोग नगरेको तथा युनिटको आवश्यक सुरक्षा अपनाएको नदेखिएपछि उनीहरूलाई प्रधान कार्यालय झिकाइएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । सो घटनाबारे प्रधान कार्यालयले गम्भीर रूपमा छानबिन गर्ने समेत उनले बताए ।
यसअघि सो घटनाको विषयमा छानबिन गर्न सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ४३ नम्बर रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो ।
घटनाको समयमा उपस्थित रहेका कर्मचारीलाई मुख्यालय तानिएको र सो कार्यालयमा सशस्त्र प्रहरी बलको ३४ नम्बर गण कैलालीबाट टोली बदली समेत गरिएको प्रवक्ता भट्टले जानकारी दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij