चितवन : चितवन राष्ट्रिय निकुञ्ज को मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने युवामा वन्यजन्तु संरक्षणप्रति सकारात्मक सोच विकास हुन थालेको छ।
रत्ननगर–९, टिकौलीकी २० वर्षीया सलिना प्रजा यस परिवर्तनको प्रतिनिधि पात्र बनेकी छन्। विगतमा गाउँमा पस्ने गैँडा, हात्ती लगायतका जनावरले बाली नष्ट गर्दा स्थानीयले लखेट्ने र कुटपिट गर्ने घटना सामान्य मानिन्थ्यो। तर, गत वर्ष गाउँमा पसेको एक गैँडामाथि आगो लगाइएको घटनाले सलिनाको सोचमा ठूलो परिवर्तन ल्यायो। उनले उक्त कार्यको विरोध गर्दै जनावरप्रति मानवीय व्यवहार गर्नुपर्ने आवाज उठाइन्।
पछिल्ला दुई वर्षमा सलिना, पूर्णिमा लामा लगायत १०० जना युवाले सीपमूलक तालिमसँगै वन्यजन्तु संरक्षणसम्बन्धी ज्ञान हासिल गरेका छन्। विश्व वन्यजन्तु कोष नेपाल ले सञ्चालन गरेको कार्यक्रममा बारिष्टा, नेचर गाइड जस्ता सीपसँगै जङ्गलमा सुरक्षित रूपमा आवतजावत गर्ने तरिका, चोरी शिकारी नियन्त्रण र जैविक विविधताको महत्त्वबारे प्रशिक्षण दिइएको छ। तालिमपछि सहभागी युवाको व्यवहारमा उल्लेखनीय परिवर्तन देखिएको छ।
पूर्वी नवलपुरकी राधा कुमारी महतोले अब जनावर संरक्षणलाई आफ्नो जिम्मेवारीको रूपमा लिएको बताइन्। कोषका अनुसार बागमती प्रदेशमा वन्यजन्तु ओसारपसारका घटना उच्च रहेकाले समुदायस्तरमै सचेतना र रोजगारी सिर्जना गर्दै संरक्षणलाई दिगो बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
यस पहलले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै युवालाई संरक्षण अभियानमा सक्रिय बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij