चितवन : क्रेस्टेड सर्पेन्ट इगल (नेपालीमा काकाकुल) ले सर्प समाएर जिउँदै निलेको दुर्लभ दृश्य चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत अमलटारी क्षेत्रमा क्यामेरामा कैद भएको छ।
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को डण्डा बजार नजिक पर्ने अमलटारी क्षेत्रका चार मध्यवर्ती सामुदायिक वनहरू पछिल्लो समय पर्यटकका लागि नयाँ आकर्षक गन्तव्यका रूपमा विकास हुँदै आएका छन्। यहाँ जिप सफारीका क्रममा बाघ, गैँडा, चित्तल, लगुना, मयूरलगायत विभिन्न प्रजातिका पंक्षीहरू अवलोकन गर्न सकिन्छ।
सफारीमा संलग्न नेचर गाइड सुदन लम्सालका अनुसार कृष्णसागर मध्यवर्ती सामुदायिक वनमा भुइँमा बसेको काकाकुलले सर्प समातेको देखिएको थियो। काकाकुलले सर्पलाई पञ्जाले समातेर केही समय रुखमा लगेर राखेपछि पुनः टाउकोतर्फबाट निलेको उनले बताए।
यसै विषयमा बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष टीका गिरीले काकाकुलले मुख्यतया साना तथा मध्यम आकारका सर्प खाने गरेको जानकारी दिए। ठूला सर्पलाई भने टुक्र्याएर खाने प्रवृत्ति पनि देखिने उनले बताए। साथै, काकाकुलले आकाशबाट मात्र पानी पिउँछ भन्ने धारणा सत्य नभएको उनको भनाइ छ।
विशेषज्ञहरूका अनुसार काकाकुलको संख्या हाल सन्तोषजनक भए पनि यसको दीर्घकालीन संरक्षणका लागि निरन्तर ध्यान दिन आवश्यक रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij