Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बालेन अभिमुखीकरणमा नजानुको एउटा कारण– होटेल रोयल टुलिप

बालेन अभिमुखीकरणमा नजानुको एउटा कारण– होटेल रोयल टुलिप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित सांसदहरूलाई दुईदिने अभिमुखीकरण र परिचयात्मक कार्यक्रम राख्यो । ललितपुरको ग्वार्कोस्थित होटेल टुलिपमा राखिएको आवासीय कार्यक्रममा सभापति रवि लामिछानेदेखि वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेन्द्र शाह बालेन आउने तय थियो । 

३ र ४ चैतमा राखिएको उक्त कार्यक्रमको पहिलो दिन दुवै नेताहरू पुगेनन् । रवि शारीरिक अस्वस्थताका बावजुद पनि समापनसत्रमा पुगेर सम्बोधन गरे । तर, बालेन भने दोस्रो दिन पनि पुगेनन् । समारोहमा बालेन बस्ने स्थान तय गरी उनको नामको 'नेमप्लेट'समेत राखिएको थियो । दुई दिनसम्म आवसीय रूपमा कार्यक्रम राख्नुमा एक अर्कामा गहिरो चिनाजानी होस् भन्ने उद्देश्य रहेको नेता विपिनकुमार आचार्यले पहिलो दिन नै भनेका थिए । साेही दिन उपसभापति डीपी अर्यालले समेत शाहलाई उपस्थित गराउने प्रयास भइरहेकाे सम्बाेधनकै क्रममा भनेका थिए । 

‘हामी विभिन्न पृष्ठभूमिबाट आएका छौँ । एकअर्कामा राम्रो चिनाजानी हुन्छ भन्ने उद्देश्यसहित यो कार्यक्रम राखिएको हो,’ उनले उद्घाटनसत्रमा भनेका थिए । पहिलो दिन शाह नआएपछि दोस्रो दिन त पक्कै आउँछन् भन्ने थियो । किनकि संसदीय अभ्यासको ज्ञान उनलाई पनि आवश्यक थियो । २०७९ सालमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका शाहले कार्यकाल नसकिएरै राजीनामा दिएर पार्टी राजनीतिमा होमिएका थिए । उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सर्तमा रास्वपामा भित्र्याइएको थियो । 

झापा ५ बाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेपछि बालेनको क्रेज अझै चुलिएको थियो । बालेन आऊलान् र केही कुरा भन्लान्, वा उनीसँग सौहार्द वातावरणमा कुरा होला भन्ने सांसदहरूको चाहना पूरा भएन । कार्यक्रममा सहभागी एक सांसदले शिलापत्रसँग भने, ‘दुई दिनसम्म हलमा कुरियो, पदाधिकारीले आउँछन्–आउँछन् त भने, तर उहाँ (बालेन्द्र) आउनुभएन । आफ्नै सांसदसँग नजिकिन किन हिचकिचाउनुभयो हामी पनि अचम्ममा छाैँ ।’ 

रास्वपा सहप्रवक्ता प्रतिभा रावलले शाहको कार्यव्यवस्तता रहेको बुझे पनि एकिन थाहा नभएको बताइन् । उनले सुरुमै आउनुहुन्छ भन्ने सूची नरहेको पनि जानकारी दिइन् । बालेननिकट स्रोतका अनुसार शाह विगत केही दिनदेखि गोप्य ठाउँमा बसिरहेका छन् । उनी भावी सरकारको कार्ययोजना तर्जुमा गर्न दरबारमार्गस्थित रोयल सिंगेमा ‘क्लोज क्याम्प’मा बसिरहेको खुलेको छ । बालेन प्रधानमन्त्री हुने भएपछि सांसदहरूले तारन्तार फोन गरेर मन्त्रीका लागि दबाब दिन थालेपछि उनी गोप्य ठाउँमा बसिरहेको बताइएको छ । 

यसअघि रास्वपा कार्यालय नगएर शाह ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको घरमा सम्पर्क कार्यालय खोली भेटघाट गर्थे । तर, रास्वपा स्रोतका अनुसार बालेन उक्त अभिमुखीकरण कार्यक्रममा नजानुको धेरैमध्ये एक कारण होटेल रोयल टुलिप पनि हो । यो होटेलका सञ्चालक राजेन्द्र शाक्य हुन् । उनैले गुण ग्रुपअन्तर्गत रोयल टुलिपको इन्टरनेसल फ्रेन्चाइज लिएर सञ्चालन गर्दै आएका छन् । 

उनै शाक्य गत १७ मंसिरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट पक्राउ परेका थिए । उनलाई बैंकको कर्जा दुरुपयोग प्रक्ररणमा थुनामा राखिएको थियो । मिडिया सञ्चालकसमेत रहेका शाक्य विवादित पृष्ठभूमिका व्यक्ति भएको र उनै सञ्चालक रहेको होटेलमा कार्यक्रम राखिएको भन्दै शाह असन्तुष्ट बनेको उनीनिकटको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट