Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

हुकिङ गर्दा करेन्ट लागेर श्रीमती गुमाएका माझीको घरमा बल्ल मिटर जडान

हुकिङ गर्दा करेन्ट लागेर श्रीमती गुमाएका माझीको घरमा बल्ल मिटर जडान

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बबरगञ्ज मुसहरटोलका विजय माझीका लागि विद्युत मिटर केवल उज्यालोको प्रतीक मात्र होइन, एउटा गहिरो पीडाको सम्झना पनि हो । वर्षौंदेखि नागरिकता र लालपुर्जा अभावका कारण घरमा विद्युत मिटर जडान गर्न नसकेपछि उनी पोलबाट हुकिङ गरेर बत्ती बाल्न बाध्य थिए । त्यही जोखिमपूर्ण अभ्यासले उनको जीवनमा कहिल्यै नमेटिने घाउ छोड्यो । केही वर्षअघि हुकिङकै क्रममा करेन्ट लागेर उनकी श्रीमतीको ज्यान गुम्यो ।

‘हुकिङ गर्दा करेन्ट लागेर मेरी श्रीमतीको मृत्यु भयो,’ भावुक हुँदै माझी भन्छन्, ‘त्यो दिन सम्झँदा अझै पनि मन दुख्छ ।’ तर अहिले त्यही घरमा विद्युत् मिटर जडान हुन थालेपछि उनको जीवनमा नयाँ आशा पलाएको छ । ‘घरमै मिटर जडान हुँदैछ, धेरै खुसी लागेको छ,’ उनले भने, ‘अब पहिले जस्तो जोखिम उठाउनु पर्दैन ।’

चन्द्रनगर गाउँपालिकाले दलित बस्तीमा विद्युत् पहुँच विस्तार गर्ने अभियान सुरु गरेसँगै विजय माझी जस्ता सयौं परिवारको जीवनमा सुरक्षित उज्यालो भित्रिन थालेको हो । गाउँपालिकाकाले ७ वटै वडाका ३३९ घरधुरीमा विद्युत मिटर जडानको काम अघि बढाएको छ । यसअघि नागरिकता, लालपुर्जा अभाव र प्रक्रियागत झन्झटका कारण अधिकांश दलित परिवार मिटरविहीन थिए । धेरैले हुकिङ गरेर बत्ती बाल्दै आएका थिए भने कतिपय अन्धकारमै बस्न बाध्य थिए ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोका अनुसार अनियमित हुकिङका कारण जनताको ज्यान जोखिममा पर्ने मात्रै होइन, राज्यलाई समेत विद्युत चुहावटका कारण घाटा हुँदै आएको थियो ।
‘धेरै घरपरिवार मिटरविहीन थिए, कतिपय अन्धकारमै थिए भने कतिपयले हुकिङ गरेर बत्ती बालिरहेका थिए,’ उनले भने, ‘यसले ज्यानको जोखिम पनि बढाउँछ र राज्यलाई पनि नोक्सानी हुन्छ ।’

नेपाल विद्युत् प्राधिकरण, मलंगवाको सहकार्यमा गाउँपालिकाको सिफारिसका आधारमा मिटर जडान प्रक्रिया अघि बढाइएको हो । आर्थिक वर्ष २०८०/०८१ देखि सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । भूमि शाखा सेवा केन्द्र प्रमुख पचुलाल माझीका अनुसार आवश्यक प्रक्रिया पूरा गर्दै अब सबै लक्षित घरधुरीमा मिटर जडान गरिनेछ ।

वर्षौंदेखि अन्धकार र जोखिमबीच जीवन बिताएका मुसहर बस्तीका बासिन्दाका लागि यो पहल केवल बत्ती बाल्ने सुविधा मात्र होइन, सुरक्षित र सम्मानजनक जीवनतर्फको महत्वपूर्ण कदम बनेको छ । विजय माझीका लागि भने यो उज्यालो एकातिर विगतको पीडाको सम्झना हो भने अर्कोतर्फ सुरक्षित भविष्यको नयाँ सुरुवात हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट