तेहरान : अमेरिकामा इरानमाथिको आक्रमणबारे जनमत विभाजित देखिएको छ । हालै सार्वजनिक गरिएको क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षणमा अधिकांश अमेरिकी मतदाताले युद्धप्रति चिन्ता व्यक्त गरेका छन् ।
सर्वेक्षणमा सहभागी ५३ प्रतिशत अमेरिकी मतदाताले इरानमाथि गरिएका आक्रमणको विरोध गरेका छन् भने ४० प्रतिशतले यसको समर्थन गरेका छन् । यसले अमेरिकी समाजमा युद्धप्रति उल्लेखनीय असहमति रहेको सङ्केत गर्छ । अझ बढी विरोध त अमेरिकी सैनिकलाई इरानमा पठाउने विषयमा देखिएको छ । सर्वेक्षणमा सहभागी झन्डै तीन चौथाइ उत्तरदाताले अमेरिकी स्थल सेना इरान पठाउने प्रस्तावलाई समर्थन नगर्ने बताएका छन् ।
युद्धका सम्भावित परिणामबारे पनि धेरै अमेरिकी चिन्तित छन् । सर्वेक्षणमा सहभागी तीन चौथाइभन्दा बढीले यो युद्धका कारण अमेरिकाभित्र नै आतङ्कवादी आक्रमणको जोखिम बढ्न सक्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, इजरायलप्रति अमेरिकाको समर्थनबारे पनि मिश्रित धारणा देखिएको छ । ४४ प्रतिशत उत्तरदाताले अमेरिका इजरायलप्रति अत्यधिक समर्थन गरिरहेको बताएका छन् भने त्यत्तिकै प्रतिशतले हालको समर्थनको स्तर ठिक रहेको भनेका छन् । समग्रमा, सर्वेक्षणले इरानसँगको युद्ध र त्यसका सम्भावित प्रभावबारे अमेरिकी समाजमा गहिरो चिन्ता र विभाजित मत रहेको देखाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij