Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

लेबनानमा शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

लेबनानमा शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

काठमाडौँ : नेपाली सेनाले लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित रहेकाे बताएकाे छ । लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको खबर आएपछि सेनाले सो प्रतिक्रिया दिएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली शान्ति सेनामाथि आक्रमण भएको भए पनि सैनिकहरु भने सुरक्षित रहेकाे जानकारी दिए । उनले सेनाकाे शिविरमा आक्रमण भएको बताउँदै आक्रमणबाट नेपाली सैनिक बस्ने घरमा सामान्य क्षति भएको बताए । आक्रमणमा मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

‘नेपाली शान्ति सैनिक अहिले बङ्करमा सुरक्षित रूपमा बसिरहेका छन्, आक्रमणबाट सैनिक बस्ने घरमा सामान्य क्षति भएको छ, मानवीय क्षति भने भएको छैन’ प्रवक्ता बस्नेतले राताेपाटीसँगकाे कुराकानीमा बताए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले शुक्रबार लेबनानको मेस अलजाबेलस्थित ब्लु लाइन नजिकै युएनमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको खबर प्रसारण गरेका थिए । अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि पश्चिम एसियामा युद्ध चर्किएको छ ।

सर्वोच्च नेता खामेनीको हत्या भएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबनानबाट इजरायलमा हवाई आक्रमण गरिरहेको छ । नेपाली शान्ति सैनिक माथिको आक्रमणबारे इजरायली सेनाले भने प्रतिक्रिया दिएकाे छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट