Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ग्याँस र इन्धनको मूल्य बढाउनेमाथि काठमाडौँ महानगरपालिकाको निगरानी

ग्याँस र इन्धनको मूल्य बढाउनेमाथि काठमाडौँ महानगरपालिकाको निगरानी

काठमाडौँ : खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । ग्याँस हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्याँस पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो । 

प्रशासन विभागका प्रमुख महेश काफ्ले भन्छन्– ‘ग्याँस छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गनेछौँ । नेपाल आयल निगमले ग्याँसको मूल्य प्रति सिलिन्डर १ हजार ९१० रुपियाँ तोकेको छ । यही मूल्यमा खरिद बिक्री गर्न व्यवसायी र उपभोक्ताहरूमा हाम्रो अनुरोध छ ।’ 

‘ग्याँस अभाव हुने आशङ्का गरेर उपभोक्ताहरूले बढी माग गर्ने गरेको पनि पाइएको छ । यसरी ग्याँस सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यसकारण उपभोक्ताहरूलाई पनि जिम्मेवारपूर्वक ग्याँस माग गर्नुपर्छ ।’ काफ्ले भन्छन्, ‘सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आफ्ना आफ्ना दायित्व सबैले पूरा गर्नुपर्छ ।’

पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारी साधनलाई उपलब्ध नगराउने सूचना पाएका छौँ । यसमा पनि हामीले निगरानी थालेको उनको भनाइ छ । ग्याँस र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइन नम्बरहरू ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा महानगरपालिकाले निगरानी गर्नेछ । 

ग्याँस विक्रेता महासङ्घ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्याँस अहिलेसम्म नियमित छ । माग धेरै भएकोले अभाव देखिएको हो । यसमा उपभोक्ताले सञ्चितिका लागि माग गर्नुभएन भने समस्या देखिँदैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट