चितवन :भरतपुर महानगरपालिका र नारायणगढ बजार क्षेत्रको यातायात व्यवस्थापनलाई चुस्त र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले कडा कदम चालेको छ। प्रशासनले बजार क्षेत्रमा जथाभावी छरिएर रहेका यातायातका टिकट काउन्टरहरूलाई ४८ घण्टाभित्र बसपार्कमा सार्न कडा निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले मङ्गलबार (फागुन २६ गते) एक सूचना जारी गर्दै जिल्ला यातायात व्यवस्थापन समितिको फागुन ९ गते बसेको बैठकको निर्णयानुसार नयाँ नियमहरू लागू गरिएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षरित सूचनामा यातायात व्यवसायी र सर्वसाधारणलाई नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
प्रशासनले बजार क्षेत्रको ट्राफिक जामलाई मध्यनजर गर्दै नारायणगढको मूल सडकमा हुने अव्यवस्थित पार्किङलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ। त्यस्तै, पुल्चोक लगायतका बजार क्षेत्रमा रहेका पेट्रोल पम्पहरूमा तेल हाल्ने बहानामा सवारीसाधन पार्किङ गर्ने र यात्रु चढाउने कार्यमा पनि पूर्ण रूपमा रोक लगाइएको छ।
यस्ता छन् प्रशासनले जारी गरेका मुख्य नियमहरू:
टिकट काउन्टर सार्न अल्टिमेटम: भरतपुर महानगर क्षेत्रभित्र विभिन्न स्थानमा रहेका यातायात व्यवसायी संस्थाका टिकट काउन्टरहरू ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्नुपर्नेछ। बसपार्कका काउन्टरबाहेक अन्यत्रबाट टिकट काट्न पाइने छैन।
सवारी कर तोकिएको बसपार्कमा मात्र: भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अबदेखि केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र उठाउने व्यवस्था गरिएको छ। यातायात व्यवसायीले तिनै स्थानमा सवारी पार्किङ गरी राजस्व बुझाउनुपर्नेछ।
सडक पार्किङमा प्रतिबन्ध: नारायणगढ बजार क्षेत्रभित्रको मूल सडकमा गरिने अव्यवस्थित पार्किङ तत्काल बन्द गर्नुपर्नेछ। पेट्रोल पम्पमा यात्रु चढाउन नपाइने: पुल्चोक तथा बजार क्षेत्रका पेट्रोल पम्पहरूमा तेल हाल्ने नाममा अनावश्यक पार्किङ गर्ने र त्यहीँबाट यात्रु चढाउने कार्य गर्न/गराउन पाइने छैन।
प्रशासनले यी नियमहरूको उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही हुने सङ्केत गर्दै सम्बन्धित सबैलाई कार्यान्वयनका लागि अनुरोध गरेको छ। यस कदमले चितवनको मुख्य सहरी क्षेत्रको ट्राफिक व्यवस्थापनमा ठुलो सुधार आउने अपेक्षा गरिएको छ। See less
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij