जनकपुरधाम : निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन दिएको छ।आयोगका अनुसार उक्त क्षेत्रसँग सम्बन्धित उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सम्मानित सर्वोच्च अदालतमा रिट दर्ता भई विचाराधीन रहेकोले अदालतबाट आदेश नआएसम्म मत परिणाम घोषणा नगर्न भनिएको हो।
आयोगले आइतबारको निर्णयअनुसार धनुषा-१ का निर्वाचन अधिकृतलाई पठाइएको पत्रमा अदालतको अन्तिम आदेश नआएसम्म सो निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न तथा नगराउन अनुरोध गरिएको छ।
यसअघि आयोगको बैठकले मिति २०८२ फागुन १८ गते उक्त निर्वाचन क्षेत्रसँग सम्बन्धित उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नम्बर ०८२–WO–०९७२ दर्ता भई हाल विचाराधीन अवस्थामा रहेको आयोगले जनाएको छ।
आयोगका कानून शाखाका शाखा अधिकृत अरुण अधिकारीद्वारा हस्ताक्षरित पत्रमा अदालतबाट आदेश नआएसम्म मत परिणाम घोषणा नगर्न स्पष्ट निर्देशन दिइएको छ।
साथै उक्त पत्रको बोधार्थ प्रदेश निर्वाचन कार्यालय धनुषा लाई दिँदै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई त्यसको जानकारी आयोगमा पठाउन पनि भनिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij