Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उपत्यकाका मतदानस्थलमा गृहमन्त्रीको अनुगमन

उपत्यकाका मतदानस्थलमा गृहमन्त्रीको अनुगमन

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्याललगायत उच्च सुरक्षा अधिकारीहरूले उपत्यकाका मतदानस्थलको अनुगमन गरेका छन्।

अनुगमनमा गृहमन्त्री अर्यालसँगै गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकाय प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले मतदानस्थलहरूको स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन्। मन्त्री अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुखसहित काठमाडौँ र ललितपुरका विभिन्न मतदानस्थलको अनुगमन गरेका हुन्।

अर्यालले ललितपुरको सानेपास्थित टीका विद्याश्रम मावि, काठमाडौँको तार्केश्वरको नागर्जुन मावि र पृथ्वीनारायण मावि, बालुवाटारको पञ्चकन्या आधारभूत विद्यालय तथा सशस्त्र प्रहरी बलको मुख्यालमा रहेको केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ। अनुगमनमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, बलाधिकृत रथी प्रदीपजंग केसी, गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेलगायत सहभागी थिए।

अनुगमनकै क्रममा गृहमन्त्री अर्यालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरे। मतदानस्थल अनुगमनका क्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा मतदान भइरहेको बताए। उनले देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताए। अनुगमनपछि गृहमन्त्री अर्यालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ब्रिफिङ गरेका थिए। निर्वाचन सुरक्षाको सन्दर्भमा मन्त्री अर्यालले गृह मन्त्रालयको कन्ट्रोलरुममा बसेर सबै निर्वाचन क्षेत्रको मनिटरिङ गरेका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट