Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पहिलो पटक मत दिनेहरू भन्छन्– ‘हाम्रो भोट खेर जाँदैन’

पहिलो पटक मत दिनेहरू भन्छन्– ‘हाम्रो भोट खेर जाँदैन’

 धनगढी : सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा शान्तीपूर्णरुपमा मतदान भइरहेको छ । यहाँका मतदान केन्द्रहरूमा लाइन लाग्नेहरूको भीडमा युवाहरूको पनि राम्रो सहभागिता रहेको छ । मतदान गर्नेहरूको भीडमा पहिलो पटक मत दिनेहरू पनि धेरै छन् ।
 
धनगढी–३ की अस्मिता राना १८ वर्ष पुगिन् । पहिलो पटक आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा उनी दङ्ग छिन् । कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी वडा नम्बर ३ को मतदान केन्द्रबाट भोट खसालेर बाहिर निस्किँदै गर्दा उनले मतदान गर्न पाउँदा खुसी लागेको बताइन् । ‘पहिलो पटक भोट हाल्दा एकदमै खुसी लागेको छ,’ उनले भनिन्, ‘यो देशमा जसले जिते पनि राम्रो काम गरोस्। देशमा सुधार होस् र परिवर्तन आओस् भन्ने चाहना राखेर भोट हालेकी छु।’
 
धनगढीकै सर्वन ओझा भने भोट हाल्नकै लागि काठमाडौँदेखि यहाँ आइपुगेका हुन्। पहिलो पटक मतदान गरेका उनले काम गर्ने उम्मेदवार रोजेको बताए। सामाजिक सञ्जालमा ठुला कुरा गर्ने तर मतदान गर्न नआउने साथीहरूप्रति भने उनको थोरै गुनासो पनि थियो। फेसबुकमा जेनजी भन्दै परिवर्तनका लागि भोट गर्ने गफ दिने कतिपय साथीहरू काठमाडौँबाट आएनन्,’ सर्वनले भने, ‘मलाई चाहिँ आफैँ आएर भोट हाल्न पाउँदा खुसी लागेको छ। यो भोटले परिवर्तन ल्याउँछ भन्ने ठुलो आशा छ।’
 
परिवर्तनकै आशा बोकेर लाइनमा उभिएकी थिइन्, धनगढीकी खुसी ऐर। उनले पनि पहिलो पटक नै भोट हालेकी हुन्। देशको विकास र गाउँ–सहरको मुहार फेर्न सक्नेलाई आफूले रोजेको उनले बताइन्। खुसी भन्छिन्, ‘मैले राम्रो कामका लागि भोट हालेकी हुँ। देशको बाटोघाटो बनोस्, सहर र गाउँ विकसित हुन् भन्ने चाहना छ।’ मतदान केन्द्रमा भेटिएकी अर्की नयाँ मतदाता बबिता विकको विश्वास पनि उस्तै छ। उनले आफ्नो पहिलो भोट खेर नजाने दाबी गरिन्। ‘खेर नजाने गरी नै यो पटक भोट हालियो,’ उनले भनिन्, ‘हामी खुसी छौँ, अब देशको अवस्थामा केही सुधार हुन्छ भन्ने विश्वास छ।’

धनगढकीकै सन्ध्या आचार्यले पनि पहिलो पटक भोट हालेकी छिन्। शान्त वातावरणमा भोट हालेको उनले बताइन्। उनले चुनाव जित्नेहरूले बाटो, खानेपानी लगायतका सबै कुरा सुविधा गर्ने काम गर्नुपर्ने बताइन्। पहिलो पटकको भोट काम गर्ने पार्टीका नेतालाई नै दिएको उनको भनाई छ। सुदूरपश्चिम प्रदेशमा उनीहरू जस्ता धेरै युवाहरूले यस पटक पहिलो पटक मतदान गरेका छन्। प्रदेशभर १७ लाख १६ हजार ६ सय ६० मतदाता रहेका छन्। अहिले पनि विभिन्न केन्द्रहरूमा उत्साहपूर्ण रूपमा मतदान जारी छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट