Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मध्यपूर्वमा बढ्दो तनावले सुनको मूल्यमा नयाँ रेकर्ड

मध्यपूर्वमा बढ्दो तनावले सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ : मध्यपूर्वमा बढ्दो भू-राजनीतिक तनाव र अमेरिकी डलरको मूल्यमा आएको गिरावटसँगै विश्व बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइ चुमेको छ। सुरक्षित लगानीको खोजीमा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएपछि बिहीबार स्पट गोल्डको मूल्य ०.८ प्रतिशतले बढेर प्रतिऔंस ५,१७७.२६ डलर कायम भएको छ। यस्तै, अप्रिलमा डेलिभरी हुने अमेरिकी सुनको मूल्य पनि १ प्रतिशतले बढेर प्रतिऔंस ५,१८६.४० डलर पुगेको छ।

पछिल्ला केही दिनयता अमेरिका र इरानबिचको युद्ध थप चर्किएपछि लगानीकर्ताहरू त्रसित बनेका छन्। बुधबार मात्रै श्रीलंकाको तटमा अमेरिकी पनडुब्बीले इरानी युद्धपोत डुबाएको र टर्कीतर्फ प्रहार गरिएको इरानी ब्यालिस्टिक मिसाइललाई नेटोको प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिएपछि युद्धको दायरा झनै फैलिएको छ। इरानका दिवंगत सर्वोच्च नेताका शक्तिशाली छोरा नयाँ उत्तराधिकारीका रूपमा अगाडि आउनुले तेहरान तत्कालै दबाबमा नझुक्ने संकेत गरेको छ। यस अनिश्चितताले सुनको मूल्यलाई दीर्घकालसम्मै सहारा दिने विश्लेषण गरिएको छ। यस वर्ष मात्रै सुनको मूल्यमा करिब २० प्रतिशतको वृद्धि भइसकेको छ। विश्वव्यापी राजनीतिक अस्थिरता र आर्थिक अनिश्चितताका बीच सुनलाई सबैभन्दा भरपर्दो सम्पत्ति मानिन्छ। यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भको आगामी अध्यक्षका रूपमा केभिन वार्सलाई मनोनयन गरेका छन्। 

ब्याजदर कटौतीको पक्षमा रहेका वार्सको आगमनले पनि बजारमा नयाँ तरंग ल्याएको छ। लगानीकर्ताहरू अब अमेरिकाको बेरोजगारी तथ्याङ्क र रोजगारी प्रतिवेदनको प्रतीक्षामा छन्, जसले आगामी मौद्रिक नीतिको दिशा तय गर्नेछ। सुनसँगै अन्य बहुमूल्य धातुहरूको मूल्यमा पनि बढोत्तरी देखिएको छ। चाँदीको मूल्य १.३ प्रतिशतले बढेर प्रतिऔंस ८४.५० डलर पुगेको छ भने प्लेटिनमको मूल्य १.६ प्रतिशतले वृद्धि भई २,१८३.४४ डलर कायम भएको छ। प्यालेडियमको मूल्य भने प्रतिऔँस १,६७४.८९ डलरमा स्थिर देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट