Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भारत–चीन सीमा क्षेत्रका जिल्लामा कडा निगरानी, सवारी जाँच तीव्र

भारत–चीन सीमा क्षेत्रका जिल्लामा कडा निगरानी, सवारी जाँच तीव्र

कैलाली : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रतिनिधि सभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा १७ लाखभन्दा बढी मतदाता रहेका छन् । प्रदेशभर कुल १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा राखिएका छन् ।

प्रदेश प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तीन तहको सुरक्षा घेरा परिचालन गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित छन् ।

निर्वाचनका लागि नेपाल प्रहरीका सात हजारभन्दा बढी र करिब १३ हजार ५०० निर्वाचन प्रहरी खटिएका छन् । सशस्त्र प्रहरी र नेपाली सेना समेत गरी ३० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालन गरिएको जनाइएको छ ।

भारतसँग खुला सीमा जोडिएको क्षेत्र भएकाले सीमा नाकामा विशेष निगरानी बढाइएको छ । भारतीय नम्बर प्लेटका सवारीसाधनको जाँच कडाइका साथ भइरहेको छ भने केही सवारी नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ । फरार कैदीबन्दीहरूको विवरण सीमा क्षेत्रमा उपलब्ध गराएर खोजी अभियान सञ्चालन गरिएको छ ।

होली पर्वलाई लक्षित गरी दुई हजारभन्दा बढी प्रहरी विशेष सुरक्षा योजनाअन्तर्गत खटिएका छन् । विभिन्न स्थानमा चेकपोस्ट स्थापना, मोबाइल टोली परिचालन तथा पैदल गस्ती सञ्चालन गरी २४सै घण्टा निगरानी बढाइएको छ ।

निर्वाचनअघि, निर्वाचनको दिन र मतगणनासम्मका लागि विस्तृत सुरक्षा योजना कार्यान्वयनमा रहेको जनाइएको छ । १७७ भन्दा बढी मोबाइल टोली तथा विभिन्न रिजर्भ टोली तयारी अवस्थामा छन् । आवश्यक परे हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ ।

मतदातालाई कुनै पनि सूचना दिन नजिकको सुरक्षा पोस्ट वा १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ । सबै जिल्लामा निर्वाचन सेल र सुरक्षा कमाण्ड पोस्ट स्थापना गरिएको छ ।

प्रदेश प्रहरी प्रमुख रानाले सबै मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै शान्तिपूर्ण निर्वाचनका लागि सम्पूर्ण सुरक्षा संयन्त्र पूर्ण तयारीमा रहेको बताए ।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट