रौतहट : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन आउन अब पाँच दिन मात्रै बाँकी रहँदा रौतहट जिल्लामा उम्मेदवारको खर्च व्यवस्थापनमा लापरबाही देखिएको छ। चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका १४२ जनामध्ये ६५ जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन्।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार शुक्रबार साँझसम्म ७७ जना उम्मेदवारले आवश्यक सिफारिससमेत लिएका छैनन्। निर्वाचन खर्चलाई पारदर्शी बनाउने उद्देश्यले बैंक खाता अनिवार्य गरिए पनि उम्मेदवारको सक्रियता न्यून देखिएको कार्यालयको भनाइ छ।
कार्यालय प्रमुख छोटेलाल दासका अनुसार निर्वाचन सम्पन्न हुन केही दिन मात्रै बाँकी रहँदा पनि धेरै उम्मेदवारले बैंक खाता सञ्चालन नगरेको अवस्था चिन्ताजनक छ। उनले समयमै प्रक्रिया पूरा नगर्दा खर्च विवरण संकलन र प्रतिवेदनमा समस्या आउन सक्ने बताए।
कार्यालयका तथ्यांकअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा दलगत १२ र स्वतन्त्र १२ गरी २४ जनाले सिफारिस लिएका छन्। क्षेत्र नम्बर २ मा दलगत ९ र स्वतन्त्र ६ गरी १५ जना, क्षेत्र नम्बर ३ मा दलगत १० र एक स्वतन्त्र गरी ११ जना तथा क्षेत्र नम्बर ४ मा दलगत १३ र स्वतन्त्र २ गरी १५ जनाले बैंक खाता खोल्न सिफारिस लिएका छन्।
निर्वाचन आयोगको निर्देशिकाअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सबै आय–व्यय अनिवार्य रूपमा बैंक खातामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था छ। तर निर्वाचन मिति नजिकिँदै जाँदा पनि ठूलो संख्यामा उम्मेदवारले खाता नखोल्दा खर्च व्यवस्थापनको पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ।कार्यालयले बाँकी उम्मेदवारलाई समयमै बैंक खाता खोल्ने प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। निर्वाचन अधिकारी दासले खाता नखोल्ने उमेदवार को हकमा निर्वाचन आयोगले गर्ने निर्णय अनुसार कारबाही हुनसक्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij