Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

ठगीका योजनाकार ६ भारतीय र १ नेपाली पक्राउ

ठगीका योजनाकार ६ भारतीय र १ नेपाली पक्राउ


झापा : नेपाल–भारत सीमा क्षेत्रमा संगठित रूपमा स्क्याम (ठगी) गरी दुवै देशका नागरिकलाई ठग्दै आएको एउटा गिरोहलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ।
करिब १२ करोड रुपैयाँ बराबरको नक्कली नोटको भ्रम सिर्जना गरी ठगी धन्दा चलाउने योजना बनाइरहेका ६ भारतीय र एक नेपालीसहित ७ जनालाई विभिन्न किर्ते कागजात र सामग्रीसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगालका अरिन्दम धर, उनकी श्रीमती दिपा भौमिक, सुमन सरकार, नुर कलाम शेख, अवेद अली हुसैन र फारुक अज्मी रहेका छन्। यस्तै, झापा कमल गाउँपालिका –६ का ४३ वर्षीय देवेन्द्र सापकोटालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले भद्रपुरमा उनीहरूलाई दुईवटा भारतीय गाडीसहित फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यो गिरोहले अत्यन्तै चलाखीपूर्ण तरिकाले ठगीको जाल बुनेको थियो।

 उनीहरूले नोट आकारका सादा कागजको बन्डल बनाई त्यसको अगाडि र पछाडि सक्कली नोट राखेर भिडियो खिच्ने गर्दथे।

​प्रहरीले मेचीनगर–४ आमडाँगीबाट २१ वटा टिनका बक्सा र २३७ बन्डल नोट आकारका सादा कागज बरामद गरेको छ। 

यसका साथै उनीहरूको साथबाट नेपाल सरकारको नक्कली निशान छाप, नेपाल प्रहरीको किर्ते परिचयपत्र, सरकारी कार्यालयका किर्ते पत्रहरू र छापहरू समेत बरामद गरिएको छ।

ती नक्कली कागजातहरूलाई सक्कली भनी विश्वास दिलाउन नोटरी पब्लिकबाट प्रमाणित गराउने उद्देश्यले उनीहरू चन्द्रगढी पुगेको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

पक्राउ परेका सातै जनालाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ‘लिखत सम्बन्धी कसुर’ अन्तर्गत मुद्दा चलाइने तयारी गरिएको छ। 

यो गिरोहले विगतमा पनि सीमा क्षेत्रका धेरै मानिसहरूलाई ठगी गरेको हुनसक्ने आशंका गर्दै प्रहरीले कोही व्यक्ति पीडित भएको भए तत्काल जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट