नवलपरासी : पानी नपर्दाको समयमा धुलोले कुहिरिमण्डल र पानी पर्दा सवारी चिप्लिएर बाटो नै बन्द, पूर्व पश्चिम राजमार्गमा बस्ने नारायणगढ बुटवल सडक खण्डबाट पार गर्ने र यसको छेउमा बस्ने मानिसहरूको नियति नै भइसकेको छ।
एसियाली विकास बैंक (एडीबी) को १६ अर्ब ९९ करोड ऋण सहयोगमा सञ्चालित यस आयोजना २०७५ सालदेखि चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले निर्माण सुरु गरेको भए पनि समयमा सकाउन सकेको छैन । अहिलेसम्म तीन पटक म्याद थपेर २०८३ साउनसम्म आयोजना सम्पन्न गर्न पर्ने सीमा रहेपनि समयमै सकिन्छ कि सकिन्न भन्ने संशय अझै बाँकी नै छ । सडक विस्तार पछि यो सडक खण्ड ७० किमि चार लेन, २९ किमि ६ लेनसहितको सर्भिस लेन र दाउन्ने खण्डको १४ किलोमिटर मा तीन लेनको हुनेछ ।
आयोजनाले अहिले पनि पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) को काम तीव्र गतिमा भइरहेको दाबी गरेपनि भौतिक प्रगति करिब ८० प्रतिशत मात्रै पुगेको छ । ‘अहिले हाम्रो पूर्वी खण्डको काम ८० प्रतिशत जति सकिएको छ,’ सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले रातोपाटीलाई भने । ‘पुलहरूको काम लगभग सकिसकेको छ, अब मुख्य गरी कालोपत्र र केही ठाउँमा ढलान जोड्ने काम मात्र बाँकी छ ।’
कुल ६५ किलोमिटर लम्बाइ रहेको पूर्वी खण्डमध्ये ६१ किलोमिटर सडकमा दुई तह (टु लेयर) को कालोपत्र भइसकेको छ । अब बाँकी रहेको खण्डमा कालोपत्र र ढलानको काम भइरहेको छ । ‘६५ किलोमिटरमध्ये ६१ किलोमिटरमा दुई तहकै कालोपत्र भइसक्यो,’ खनालले भने, ‘अब करिब ६ किलोमिटर जतिमा एक तहको कालोपत्र गरेपछि चारै साइडको काम पूर्ण हुनेछ ।’फिल्डमा हेर्ने हो भने पनि यो खण्डको बजार क्षेत्र र उकालो भागहरूमा गरिने ढलानको काम पनि अन्तिम चरणमा पुगेको छ । ४ किलोमिटर ढलान गर्नुपर्नेमा हालसम्म ५० प्रतिशत अर्थात् २ किलोमिटर सम्पन्न भइसकेको छ । बाँकी २ किलोमिटर ढलानको काम आगामी मे महिनाको अन्त्य अर्थात् जेठको पहिलो साताभित्र सक्ने लक्ष्य राखिएको छ ।
आयोजनाले ९० प्रतिशत काम सकिएपछि सडकको स्वरूप पूर्ण रूपमा बदलिने र बेसिक काम सकिने बताएको छ । यता पश्चिम खण्ड (दाउन्ने–बुटवल) को भौतिक प्रगति ७७ प्रतिशत मात्रै छ । इन्जिनियर खनालका अनुसार ६० किलोमिटर खण्डमा ढलान (रिजिट पेभमेन्ट) को काम करिब आधा सकिएको छ भने २५ देखि २७ किलोमिटर क्षेत्रमा ढलानको काम बाँकी छ । ‘दाउन्नेको ढलानको काम वैशाख (अप्रिल) अन्त्यसम्म सक्ने र जेठ (मे) को अन्त्यसम्म दाउन्ने खण्डको सबै काम सकेर सडक पूर्ण रूपमा सञ्चालन गर्ने ठेकेदारको लक्ष्य छ ।’ इन्जिनियर तथा सूचना अधिकारी खनालले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij